देउवा नेतृत्व समितिको वैधानिकता भदौ २३ देखि रहँदैनः नेता पौडेल (भिडियोसहित)

देउवा नेतृत्व समितिको वैधानिकता भदौ २३ देखि रहँदैनः नेता पौडेल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्य समितिको वैधानिकता सकिने बताएका छन्। कांग्रेस विकल्पविहीन अवस्थामा आइपुगेको भन्दै निर्धारित समयमा महाधिवेशन हुनुपर्ने पौडेलको जोड छ। यसैबीच ४२ युवा नेताहरूले पार्टीको १४औं महाधिवेशनको मिति निश्चित गरी नयाँ कार्यतालिक सार्वजनिक गर्न माग पनि गरेका छन्। 

माओवादी अध्यक्ष प्रचण्डको भ्याकेट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न भन्दै माओवादी अध्यक्ष प्रचण्ड भ्याकेट निवेदन बोकेर पुनः सर्वोच्च पुगेका थिए। तर, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्ने सम्बन्धी माग तत्काल अस्वीकार गरिएको हो।

पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ। समितिले २०७२ सालको महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरु पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ । यस्तै पनुर्निमार्णका कामहरू भइरहेपनि बजेटको कारण केही कामहरुमा ढिलाइ भइरहेको प्राधिकरणले जनाएको छ।

दक्षिणपूर्वी एशियामा कोरोना महामारीले बिकराल बन्दै गएको तथ्यांकले देखाएको छ। कोरोनाको दोस्रो लहरसँगै देखापरेको ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भेरियन्टका कारण तेस्रो लहरले जनजीवन आक्रान्त बन्दै गएको छ। इन्डोनेशिया, भियतनाम, मलेशिया, थाइल्याण्ड र म्यानमार अहिले अक्सिजन र हस्पिटल बेड अभाव तथा स्वास्थ्यकर्मीहरूमा बढ्दो संक्रमण जस्ता समस्याहरूबाट ग्रस्त बनेका छन्। इन्डोनेशिया  भारत र ब्राजिललाई उछिन्दै संसारमै सबैभन्दा बढी संक्रमण दर हुने मुलुक भएको तथ्यांकले देखाएको छ।

नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले प्रस्ताव गरेका छन्। एन्फाका अनुसार, प्यालेस्टाइन, भारत र बंगलादेशले नेपाल आएर मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेका हुन्। नेपाललाई कीर्गिस्तानले समेत मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको एन्फाले जनाएको हो। तर, नेपालले भने भारतलाई आमन्त्रण गरेर घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न चाहेको छ सोही अनुसार आन्तरिक तयारी गरिरहेको छ।

Logo