सांसद किराँतीको तलबबाट उत्तरकुमारीको घरमा छानो, भुईंमान्छे नै मेरा गुरु र पाठशालाः किराँती

सांसद किराँतीको तलबबाट उत्तरकुमारीको घरमा छानो, भुईंमान्छे नै मेरा गुरु र पाठशालाः किराँती

केन्द्रबिन्दु
0
Shares

भोजपुरको उत्तरी साल्पाशिलिछो गाउँपालिका ५ का उत्तरकुमारी राईको समस्यामा संघीय सांसद सुदन किराँती जोडिएका छन्। सांसद किराँतीले राईको वासस्थानका लागि गाँउलेले बनाइदिएको एकतले घरमा छानाको प्रवन्ध गरिदिएका हुन्। उनले सांसद बापत प्राप्त आफ्नो एक महिनाको तलब राईको छाना निर्माणका लागि हस्तान्तरण गरेका हुन्। 

श्रीमानले अलपत्र छोडेर हिँडेपछि दुःखका साथ सन्तान हेरचाहमा रहेका राईको बासस्थानको समेत टुंगो नलागेपछि माइतीगाउँका छिमेकीहरुले उत्तरकुमारीको घर निर्माण गरिदिने भएका थिए। छिमेकीहरुसँग काँध जोड्न पुगेका सांसद किराँतीले गतिलो छानाका लागि भन्दै एक महिनाको तलब उपलव्ध गराएका हुन्। 

उत्तरकुमारीका दुःख 
दोभाने तेन्दो फेदीका उत्तरकुमारी राई सानै उमेरदेखि एउटा आँखाको साहारामा दैनिकी गुजार्छिन्। गाउँमै विवाह बन्धनमा बाँधिएका राईका एक छोरा र दूई छोरी छन्। गाउँमा बनिबुतोका साथ श्रीमानश्रीमतीको दैनिकी चलिरहेको थियो। तर एकदिन एक्कासी श्रीमान बेपत्ता भए। बेपत्ता श्रीमान महिनौं घर फर्किएनन्। त्यसपछिका उनका दुःख शिलिचुङ जस्तै चुलिँदै गए। 

श्रीमानले साना नाबालक छोराछोरीसँग अलपत्र छाडेपछि बेसहारा बनेका उत्तरकुमारी माइतीको शरणमा पुगिन्। उनले माइतीको साहारामा बसेर तीन सन्तानलाई हुर्काइरहेकी छिन्। बाँसको खाँबाेसँग चित्राले घेरेर बनाएको एक झुप्रोले साथ छोड्न लागेसँगै गाउँलेसँग जोडिन पुगे सांसद किराँती। गाउँलेहरु श्रमदान गरि उत्तरकुमारीको दुःखमा साथ दिन तयार अनि सांसद किराँती आर्थिक रुपमा लाग्ने छानाको प्रवन्ध गर्न तयार भएसँगै उत्तरकुमारीको सिंगो घर निर्माण भएको छ। 

हर्षित तेन्दोवासी
माइतीगाउँको साहारमा दुःखजेलो गरिरहेका उत्तरकुमारीलाई गतिलो बासस्थानको अभाव थियो। उत्तरकुमारीको दुःखमा साथ बनिदिन एउटा गतिलो टहरा निर्माण गर्न सकिन्छ कि भन्ने तेन्दोवासीको चाहानामा सांसद किराँती जोडिने भएपछि उत्साहित थिए तेन्दोवासी। निर्माणका लागि सकृय गाउँलेलाई सांसद किराँतीको एक महिनाको तलव प्रदान गरेसँगै गाउँमा उत्तरकुमारीको पनि चिटिक्क घर उभिएको छ। उत्तरकुमारी त गद्गद् छन् गाउँलेहरुसमेत उत्तरकुमारीको खुसीमा उसरीनै खुसी देखिन्छन्। 

आफूहरुको दुःखमा जोडिन आइपुगेकोमा सांसद किराँतीप्रति कृतज्ञ छन् तेन्दोबासी । स्थानीय जलावती राई दुःखसुखमा साथ दिने जनप्रतिनिधि पाउँदा गाउँलेनै हर्षित रहेको बताउँछिन्। ‘ धेरै होस् वा थोरै तर दुःखमा जोडिन आइपुग्नुभयो। गाउँको दुःखसँग जोडिनुभयो। हामीले असल मान्छे निर्वाचित गरेका रहेछौं। खुसी लागेको छ।’ जलावती राईले बताइन्। 

भुईंमान्छेहरुनै मेरो गुरु र पाठशाला–किराँती 
आफूले गरेको सानो सहयोगप्रति गाउँलेले देखाएको कृतज्ञता प्रति सांसद किराँतीसमेत खुसी देखिएका छन्। आफ्ना कतिपय नागरिकहरुको अवस्था उत्तरकुमारीकै जस्तै रहेकाले उनीहरुको जीवनस्तर उकास्न राज्यस्तरबाट कसरी सकिएला भन्नेमा आफू चिन्तित रहेको किराँतीको भनाइ छ । 

‘भुईंमान्छेहरुको भोगाई दुःखसँग नजिक रहेर उनीहरुको समस्या समाधान गर्ने एउटा सेतु बनुँ भन्ने लाग्छ। ’ किराँती भन्छन् ‘ त्यसैले उनीहरुनै मेरा गुरु हुन् राजनीतिक पाठशाला हुन्। म पढिरहेछु अध्ययन गरिरहेछु। ’ 

सांसद किराँतीको अधिकांश समय निर्वाचन क्षेत्रमा बित्ने गरेको छ। उनी निर्वाचनमा विजयी भएसँगै जनताको प्रश्न सांसदको उत्तर अभियाननै लिएर निरन्तर गाउँगाउँ चहारिरहे। त्यसरी संकलन भएको समस्यालाई लिएर उनी मन्त्रालय चाहार्दै समस्या समाधानको प्रयत्न गरिरहन्छन्। संसदमा आम नागरिकको भाषा बोल्छन्। उत्तरकुमारीको समस्या समाधान राज्यको संयन्त्रमार्फत भए मात्रा आफूहरुको अभियान राजनीतिक आन्दोलनको सार्थकता हुने उनको बुझाई छ।

Logo