राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा नेतृत्व हस्तान्तरणको बढ्दो मागसँगै नेता जगत गौचनले आसन्न महाधिवेशनमा दोस्रो पुस्ताबाट अध्यक्षको उम्मेदवार बन्ने चाहना सार्वजनिक गरेका छन्।
उनले पार्टीलाई सही गन्तव्यमा लाने आँट र विश्वास रहेको पनि बताए।
‘तीन जना अध्यक्षहरू सहमति गर्नुहोस् नत्र दोस्रो पुस्ताको वरिष्ठ सदस्यको नाताले म अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्दछु’, नेता गौचनले सोमबार भने, ‘पार्टीलाई सही गन्तव्यमा लैजाने आँट, विश्वास छ, यसमा पार्टीका तमाम साथीहरूमा सहयोग र समर्थनको लागि अनुरोध गर्दछु।’
राप्रपाको विशेष समिति, निर्देशन समिति, कार्यसम्पादन समिति, केन्द्रीय कार्य समितिका सदस्यहरू लगायत भातृ संगठनका पदाधिकारी समेतको उपस्थितिमा आयोजित महाधिवेशन केन्द्रीत एक अन्तरक्रियामा गौचनले अध्यक्ष पदमा उम्मेदवार बन्ने बताएका हुन्।
अन्तरक्रियामा धारणा राख्ने अधिकांशले राप्रपाको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनु पर्ने बताएका थिए ।
राप्रपा बचाउने हो भने नेतृत्व पुस्तान्तरण अनिवार्य भएको भन्दै पार्टी प्रजा परिषदको बाटोमा जाने खतरा रहेको बताएका छन्।
पार्टीलाई एक ढिक्का राख्न दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सारेर पहिलो पुस्ताको सम्मान र उचित व्यवस्थापन हुनु जरुरी भएको पनि बताएका थिए।
पार्टी विधि र विधानको आधारमा नभएर नेताहरूको व्यक्तिगत इच्छामा चलेको भन्दै प्रजातान्त्रिक पार्टीमा विधिको सम्मान जरुरी रहेको उनीहरूको चिन्ता थियो।
अन्तरक्रियाको क्रममा नेताहरूले पार्टी एकीकरण भएको वर्ष बितिसक्दा पनि जिल्ला समितिहरू समायोजन नहुनु, बागमती र सातवटै प्रदेशहरूले नेतृत्व प्राप्त नगर्नुले तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ भन्नेमा शंका व्यक्त गरे।
यस्तो अवस्थामा स्थानीय तहको निर्वाचनमा कसरी सफलता हात लाग्छ? उनीहरूको प्रश्न थियो।
सहभागी नेताहरूले अध्यक्ष पदका आकांक्षी गौचनलगायत सबैलाई आ–आफ्नो कार्यक्रम सार्वजनिक गर्दै देश दौडाहामा निस्कन सुझाव दिएका थिए ।
राप्रपाका लोकप्रिय नेता धवलशम्शेर राणाले यसअघि नै अध्यक्ष पदका लागि उम्मेदवारी सार्वजनिक गरीसकेका छन् ।





























प्रतिक्रिया