सरकार सञ्चालनमा देउवालाई ‘अक्षम’ भन्ने बेला आइसकेको छैनः प्रा. कृष्ण पोखरेल

सरकार सञ्चालनमा देउवालाई ‘अक्षम’ भन्ने बेला आइसकेको छैनः प्रा. कृष्ण पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पाँचौंपटक प्रधानमन्त्री भएको एक महिना पूरा भएको छ।

२८ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएपछि २९ असारमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए। तर, एक महिना बितिसक्दासमेत उनले मन्त्रिपरिषद विस्तारको न्यूनतम कामसमेत गर्न सकेका छैनन्।

देउवा २० मन्त्रालयको जिम्मेवारी आफैं लिएर बस्न कार्यसम्पादन गर्न बाध्य भएका छन्। मन्त्रिपरिषद विस्तारमा देउवा सफल नहुनु नेपाली कांग्रेस मात्र दोषी भने होइन, सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र जसपाका कारण पनि देउवा अप्ठ्यारोमा परेका हुन्।

यता, सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा विपक्षी दलले संसदमा सरकारको आलोचना गर्ने बाटो पाइरहेको छ। सरकारको एक महिना, सय दिन र एक वर्षलाई निकै चासोका साथ हेरिने गरिन्छ। तर, देउवा सत्तामा आएको  एक महिनामै खराब इनिङ देखिएको विश्लेषकहरूको तर्क छ।

यता, देउवा नेतृत्वको सरकारले एक महिना बितिसक्दा समेत केही गर्न नसकेको भन्ने आलोचना भइरहेको बेला राजनीतिक विश्लेषक कृष्ण पोखरेलले भने केही काम भएको बताएका छन्।

देउवाले सानो आकारको मन्त्रिमण्डल बनाएको, साझा न्युनतम कार्यक्रम गरेको, कोभिडविरुद्ध तदारुकताका साथ लागेको उनले बताएका छन्।

तर, न्यूनतम गर्नैपर्ने काम मन्त्रिमण्डललाई पूर्णता दिन चाहिँ नसकेको तर, त्यो पनि देउवाको कारण नभएर गठबन्धनका अन्य घटकका कारण भएको पोखरेलले बताएका छन्।

‘गठबन्धनको धार्नी, नापजोख के पुगेको छैन, त्यसैकारण मन्त्रिमण्डल विस्तार हुन सकेको छैन, यी सब हेर्दा मिश्रित काम भएको छ,’ पोखरेलले भने।

कानुन र न्याय सम्पादनमा भने देउवा नेतृत्वको सरकारले ठिकै काम गरिरहेको पोखरेलले केन्द्रबिन्दुलाई जानकारी दिए।

काम नै केही नभएको भन्ने आरोपप्रति उनले भने, ‘अघिल्लो सरकारको ज्यादतीविरुद्ध जनतामा अपेक्षा बढ्नु स्वभाविक रहेको थियो। तर, सीमित समयका कारण देउवाले त्यो अपेक्षा पूरा गर्न सकिरहेको देखिँदैन,’ पोखरेलले भने, ‘हनिमुन समय पनि सय दिनलाई मानिन्छ, अहिले एक महिनामै उपलब्धि खोजेर भेटिँदैन। उनको प्रमुख कमजोरी त्यही मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुमै देखियो।’

सरकार र पार्टी सञ्चालन गरिरहेका देउवालाई दुबै सञ्चालनमा असक्षम भएको आरोप लागिरहेको छ।

पोखरेलले भने, ‘कांग्रेस महाधिवेशन हुन नसक्नेजस्तो देखिएको छ, त्यो हिसाबमा देउवा असक्षम देखिए। तर, सरकार सञ्चालनमा भने अहिले नै त्यस्तो भन्न मिल्दैन।’

देउवालाई काम गर्न असहज गठबन्धनले अप्ठ्यारो पारेको उनको ठम्याइ छ। जसपा र एमालेको आन्तरिक विवाद र दुवै समूहबाट देउवालाई सहयोग गरेका एक–एक नेतालाई मिलाउनुपर्ने बाध्यताका कारण देउवालाई सकस परेको उनले बताए।

‘अहिलेदेखि नेताहरूलाई नमिलाए बीचमा कतिखेर साथ छाड्छन्, टुंगो हुँदैन, त्यही भएर अहिले त्यो मिलाउनमै देउवा–प्रचण्डको समय खर्च भएको छ। अर्कोतिर, माओवादी केन्द्र र कांग्रेसमै पनि मन्त्री बन्न आकांक्षी बढी भएकाले यो अवस्था आएको मैले देखेको छु,’ पोखरेलले भने।

Logo