हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
नेकपा (एमाले)को आन्तरिक एकताको प्रयास कमजोर बन्दै जाँदा पार्टीका दोस्रो तहका नेता भने एकाताका लाग अझै प्रयासरत देखिएका छन्। पार्टीलाई एकिकृत गर्ने विषयमा आइतबार पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। उनीहरूले गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए। यद्यपि माधव पक्षका तेस्रो तहका नेताहरू भने पार्टीबाट अलग हुन हरसम्भव कोसिस गरिरहेका छन्।
मेलम्ची नदीमा आएको बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरुले उक्त क्षेत्रमा फेरि पनि वाढी पहिरो जानसक्ने चेतावनी दिएका छन्। मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्ववत स्थानमा बस्न नसकिने निष्कर्ष निकालेको हो। मेलम्ची जलाधार क्षेत्रमा रहेको सानाठूला सबै नदीहरुमा जुनसुकै समयमा बाढी आउन सक्ने भएकाले पूर्वसतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ।
अफगानिस्तानमा अतिवादी समूह तालिवानले कब्जा जमाउँदै जाँदा त्यहाँको माहोला संकटग्रस्त बनेको छ। यस्तो अवस्थामा अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन राजनीतिक तथा तथा विभिन्न निकायले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्। यस्तै दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य भएको नाताले नेपालको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा भएको हिंसा अन्त्यका लागि पहल गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिएका छन्।
राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणको दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारी अनुसार मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रारम्भिक चरणमा बोलाएका ४५ खेलाडी मध्ये ३९ खेलाडी बन्द प्रशिक्षणमा सहभागी थिए । नेपाल पुलिस क्लबका पाँच खेलाडी परिक्षाका कारण र एक खेलाडी कोभिड पोजेटिभ आएका कारण प्रशिक्षणमा सामेल भएनन्। उक्त ३९ जनाबाट १७जना प्रशिक्षणबाट बाहिरिएका छन्।
अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल प्रवेश गरेका छन्। आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण सहर जलालावाद कब्जामा लिएका तालिबानहरू दिउँसो राजधानी काबुल पुगेका हुन्। विद्रोही समूहको राजधानी काबुलमा दवदवा बढ्दै जाँदा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने तयारी अफगान सरकारले गरेको समाचार संस्थाहरूले जनाएका छन्।
आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८६७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ। नेपालमा आज २ हजार २१२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४१९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३२ हजार २७२ जना र एन्टीजेन परीक्षणबाट ७५ हजार १३० जना पुगेको छ। आज ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ। आज १२ हजार १०६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ५७ हजार ५७२ जनाको पिसिआर र ३ लाख ९५ हजार ८५३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया