माइतीघरबाट सुरु भयो तेस्रो चरणको थरुहट आन्दोलन

माइतीघरबाट सुरु भयो तेस्रो चरणको थरुहट आन्दोलन

केन्द्रबिन्दु
0
Shares

टीकापुर घटनाको छैंठौ वर्षको एक साता अगावै थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलन काठमाडौंबाट सुरु गरेको छ। 

मंगलबार माइतीघर मण्डलाबाट नागरिक समाजका अभियन्तासहितको सहभागितामा मोर्चाले धर्ना कार्यक्रम राख्दै आन्दोलन सुरु गरेको हो। 

टीकापुर घटनाको ६ वर्षपछि आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउन तेस्रो चरणको थरुहट आन्दोलन गर्नुपरेको मोर्चाका कार्यबाहक अध्यक्ष श्रवण थारुले बताए।

प्रदेश संरचनामा छुट्टै थरुहट प्रदेश समेटिनुपर्ने भन्दै २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसामा ८ जना प्रहरी र एक नाबालकको ज्यान गएपछि थरुहट आन्दोलन निकै शिथिल बनेको थियो।

थरुहट थारुवान राष्ट्रिय मोर्चाले अपिलमा भनेको छ, ‘टीकापुरको घटना न आयोजकहरूको तर्फबाट प्रायोजित घटना थियो, न जनप्रदर्शन र सभामा सामेल जनसमुदायको उद्देश्यअनुरुप नै थियो। त्यो केही तत्वहरूले अवान्छित तवरले आन्दोलनलाई बदनाम गर्न, राजनीतिक मुद्दालाई अपराधिक करार गर्न गरेको षड्यन्त्र मात्र थियो ।’ 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुरको झुठा मुद्दा खारेज, सांसद रेशम चौधरीलगायत अन्य बन्दीको रिहाइ, संविधान संशोधनलगायतका मागसहित उनीहरुले धर्ना दिएका थिए।

थरुहट आन्दोलनमा नागरिक समाजका अभियन्ताहरू नारायण वाग्ले, युग पाठक, मोहना अन्सारी, रीता परियार, श्रवण मुकारुङलगायतको सहभागिता थियो । साथै आन्दोलनमा नेवाहरूको झाँकी समेत रहेको थियो । रचनावाचन सहित विभिन्न कार्यक्रम बुधबार र बिहीबार पनि हुनेछ।

टीकापुर घटनामा आजीवन कारावास तोकिएका थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु हाल अद्र्धभूमिगत जीवन बिताइरहेका छन् । 
 

Skip This
Skip This
Logo