म सभापतिको उम्मेदवारबाट पछि हटेको छैनः प्रकाशमान सिंह

म सभापतिको उम्मेदवारबाट पछि हटेको छैनः प्रकाशमान सिंह


नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। 

शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्णरुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन्। उनी आमजनताको दुःखमा मलमपट्टी लगाउनका लागि भए पनि आफू कांग्रेस सभापति बन्नु पर्ने बताएका हुन्।

आम जनताको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू कांग्रेसको सभापति बन्नु पर्छ।’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ। पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ। म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दिन।’

साथै नेता सिंहले १३ औं महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए। नेतृत्व गलत भए पछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे।

यस्तै उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए। नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी भएको दाबी गरे।

साथै केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा अनियमितता गर्दा बर्षौंदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको उनको भनाइ छ।

Logo