माधव समूह छिट्टै सरकारमा जाने (भिडियोसहित)

माधव समूह छिट्टै सरकारमा जाने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरूले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्। पाँच दिनभित्र माधव नेपालको साथ छाडेका भनिएका नेताहरु पनि आफूहरुकै पार्टीमा आउने दावी समेत उनीहरूको छ। यता, नेकपा एमालेका नेताहरूले भने अझै पनि पार्टीमा फर्किएर एक भएर अघि बढ्नु पर्नेमा जोडि दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संकटपूर्ण अवस्थामा रहँदा पार्टीका ५७ जना नेताहरूले अध्यक्ष केपी ओलीलाई चार दिनको समयसीमा दिएका छन्। पार्टीबाट अलग भएर वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको निवेदन दिएको अवस्था रहँदा अध्यक्ष ओलीलाई थप दबाब दिन उनीहरूले पार्टीबाट स्वतन्त्र हुने बताएको विश्लेषण गरिएको छ।

बैंकहरूमा खाता खोल्ने नेपालीको संख्या ३ करोड ६३ लाख ६६ हजार पुगेको नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय पहुँचसम्वन्धी अध्ययन प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार मुलुकका ७५३ स्थानीय तहमध्ये वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूको शाखा ७५० स्थानीय तहमा पुगेको र अब ३ वटा स्थानीय तहमा मात्रै शाखा पुग्न बाँकी रहेको देखाएको छ ।

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। 

अफगानिस्थानमा तालिवानहरूदे कब्जा जमाएसँगै त्यहाँको सञ्चार क्षेत्रपनि पूर्ण प्रभावित बनेको छ। अगस्ट १५ यता त्यहाँका कयौं सञ्चारगृहबाट समाचार सम्प्रेसण हुन सकेको छैन। अफगानिस्तानका पत्रकारहरूले पनि आफू तालिवानको आगमनसँगै भयभित भएको र काम गर्ने वातावरण नभएको बताउँदै आएका छन्। अर्कोतर्फ तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा उल्लेख छ। यसले त्यहाँको सञ्चारकर्मीहरूको अवस्था पनि संकट ग्रष्त रहेको पुष्टि गरेको छ।

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ। नेपालमा आज २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६५१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४५ हजार ७३१ जना र एन्टीजेन परीक्षणबाट ७९ हजार ९९१ जना पुगेको छ। आज ३० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ। आज १३ हजार ७५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख २१ हजार २४८ जनाको पिसिआर र ४ लाख २९ हजार ४८२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo