‘‘ह्वाइट हाउसमा देखिएको केही समयमै बालुवाटार हुँदै ललितपुरको सानेपासम्म कोरोनाको बुलेट यात्रा’’
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोेना भाइरस अर्थात कोभिड–१९ बाट अर्थतन्त्रका साथै विश्व राजनीतिमा समेत नराम्रोसँग असर परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिदेखि लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसनसम्म यसको शिकार भएका छन् । साथै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो, होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज, ग्वाटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते, बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज, डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर, इरानका उपराष्ट्रपति र मन्त्रीहरु र भारतका उपराष्ट्रपति एम वेंकैया नायडुलाई पनि संक्रमण पुष्टि भएको छ । भारतीय पूर्वराष्ट्रपति प्रवण मुखर्जीले कोरोनासँगको लडाईमा हार मान्दै मृत्युको बाटो रोजेका छन् ।
विश्वका राजनीतिक हस्तीहरु कोरोनाको शिकार हुँदा नेपाली राजनीतिमा भने यसले प्रवेश पाएको थिएन । तर पछिल्लो समय नेपाली राजनीतिको घर आँगनमै कोरोना भित्रिएको छ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेतृत्व गरेको सरकारमा संलग्नहरुसँग अहिले कोरोनाले सम्बन्ध स्थापित गरी सकेको छ । शुक्रबार बालुवाटारमा संकलन गरिएको थ्रोट स्वाबमा करिब ७० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा तीन वटै सुरक्षा संयन्त्रका पदाधिकारीदेखि प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका छन् ।
बालुवाटारमा कोरोनाको प्रवेश
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत तीनै अंगका सुरक्षाकर्मीसहित उच्च पदस्थ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केही सुरक्षाकर्मीमा संक्रमण देखिएसँगै शुक्रबार बालुवाटारमा गरिएको थ्रोट स्वाब संकलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं स्थायी कमिटी सदस्य विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतका उच्च पदस्थ व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यसअघि पनि प्रधानमन्त्री ओलीको निजी सचिवालयमा कोरोना प्रवेश गरेको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह र प्रधानमन्त्रीको निजी सचिवालयका फोटो पत्रकार राजन काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिपक्षी पनि कोरोनाबाट अछुतो रहेन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि कोरोना भाइरसले प्रवेश गरेको छ । असोज १५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गर्ने मध्येमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए । १९ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकका लागि परीक्षण गराइएको थियो । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतका नेताहरुमा संक्रमण पुष्टि भएसँगै कांग्रेसभित्र कोरोनाको प्रवेश भएको हो ।
कोरोनाका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित
कोरोना भाइरसको संक्रमण बढेसँगै नेकपाको सचिवालय बैठक अन्योलमै रहेको छ । शनिबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । पछि सचिवालयको बैठक आइतबार दिउँसो ४ बजेका लागि सारिएको थियो । तर आइतबारकाे बैठक पनि अनिश्चितकालका लागि स्थगित भएकाे छ ।
यता, नेपाली कांग्रेसले पनि केन्द्रीय कार्यालय पाँच दिनका लागि सिल गरेको छ । चार जना केन्द्रीय सदस्यसहित केही कर्मचारीहरुमा संक्रमण देखिएपछि कांग्रेसले तत्कालका लागि आइतबारबाट लागू हुने गरी आगामी पाँच दिनका लागि केन्द्रीय कार्यालय बन्द गरेको हो । तर असोज १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक तत्कालका लागि स्थगित गर्ने वा नगर्ने भन्नेबारे आजै निर्णय गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपालमै पहिलो पटक मन्त्रीमा संक्रमण पुष्टि
नेपालमा पहिलो पटक प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुुष्टि भएको थियो । गत साउन २१ गते साँझ आएको रिपोर्ट अनुसार मन्त्री यादवमा कोरोना संक्रमण पुष्टि भएको थियो । साथै मन्त्री यादवकै मन्त्रालयका एक महिलासहित ७ कर्मचारीमा समेत त्यतिबेला संक्रमण पुष्टि भएको थियो ।





























प्रतिक्रिया