ओलीले ढोका ढप्काएपछि बाध्य भएर नयाँ पार्टी खोल्नुपर्योः माधव नेपाल

ओलीले ढोका ढप्काएपछि बाध्य भएर नयाँ पार्टी खोल्नुपर्योः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन् । 

अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफूहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको अभिव्यक्ति दिए । 

उनले भने, ‘निष्काशित भइसकेपछि हामीले कि त घुँडा टेक्नुपथ्र्यो, चुप लागेर सडकमा बस्नुपथ्र्यो, कि त हामीले अर्को क्रान्तिकारी पार्टी निर्माण गर्नुपथ्र्यो ।’ आफूहरुले तेश्रो विकल्प नयाँ पार्टी गठन अवलम्वन गरेको उनको जिकिर थियो । 

अध्यक्ष नेपालले आफूहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्या भन्दा बढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गरे ।

उनले भने, ‘चाहे वार्तामा जुट्नुभएका कमरेडहरु हुनुहोस् । चाहे वार्तामा नजुटेर पनि भुमिका खेल्नुभएका कमरेडहरु हुनुहोस् । सबै मिलेर हामी एकतावद्ध भएर जाने कोसिसमा छौँ । अब केपीको कित्ता एकातिर भएको छ र अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको विचार र धारणामा परिवर्तन आएमा पार्टी गठन गर्ने बित्तिकै ओलीसँग पनि एकताको निम्ति तयार रहेको जिकिर गरे । उनले आफूहरुलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै षडयन्त्रलाई चिरेर पार्टी निर्माण गर्ने पनि बताए ।

उनले बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफूसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको पनि जनाए । उनले भने, ‘अष्टलक्ष्मी कमरेडले मेरो सहमति लिनुभएकै हो । २१ दिनको समय सिमाभित्र कुन पार्टी रोज्ने भन्ने हुन्छ, त्यसको आधारमा अनि त्यो सरकारलाई हामीले कसरी हेर्ने भन्ने तय हुनेछ ।’

Skip This
Skip This
Logo