साथ नदिएका नेताहरुप्रति कुनै गुनासो छैनः माधव नेपाल

साथ नदिएका नेताहरुप्रति कुनै गुनासो छैनः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन्।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको र त्यो अहिले कायमै रहेको उनले बताए।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिवर्तन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए। 

तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, ‘थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन।’

त्यस्तै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह पनि गरेका छन्। नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाए।

‘ओली दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसकेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएका व्यक्ति हुन्।,’ उनले भने, ‘दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहन्छु ।’

हजारौं कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नयाँ पार्टी खोल्न ढिलाइ गरेको नेता नेपालले बताए। 

‘हजारौं कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले हामीले तत्कालै नयाँ पार्टी खोलेनौं।’

पछिल्लो समय त्यसको सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल खोलेको उनको भनाइ थियो। ‘अहिले परिस्थितिमा परिवर्तन भयो, हाम्रा लागि मात्रै होइन, अरुका लागि पनि आवश्यक पर्यो,’ नेपालले भने, ‘संवैधानिक अनुकूलता प्राप्त भयो। एउटा निकास पायौं। हामीले सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भयौं।’

कम्युनिष्ट आन्दोलनमा यस्तो हुने भन्दै उनले साथ नदिएकामा आफ्नै समूहका नेताहरूप्रति खासै गुनासो नभएको समेत बताए।

Logo