सरकारले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरुप दशलाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सम्धीखर्क, गोरुसिंगेको १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ ९ मिटर बायाँ ९ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने नीजि जग्गा लगायतका अन्य संरचनाहरुलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ। त्यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बाणगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधिश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।





























प्रतिक्रिया