हामीले प्रत्येक दिन टप फाइब समाचारलाई भिडियोसहित केन्द्रबिन्दु बुलेटिनमा पस्किने गरेका छौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सबै पार्टी मिलेर पनि अबको चुनावमा एमालेसँग लड्न नसक्ने बताएका छन् । हालै भएको पार्टी विभाजनबाट केही मानिस चोइटिएर जाँदैमा एमाले नहड्बडाउने ओलीको तर्क छ। युवा संघको भेलालाई सम्वोधन गर्दै ओलीले एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ र त्यो कसैले नचिताए हुने बताएका छन्। अन्य १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरूलाई एक ठाउँमा राखेमा स्थायित्व होला भन्ने ठानेर एकताको प्रस्ताव अघि सारेको तर, दुर्भाग्यबस प्रतिगमनका नाइकेहरूका कारण त्यो हुन नसकेको बताएका छन्। उनले तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्री आलो–पालो भन्ने सहमति ओलीको ठगी धन्दा मात्र रहेकोे आरोपसमेत लगाएका छन्। शनिबार नै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेटपछि पौडेल पक्ष महाधिवेशनको तयारीमा लाग्ने भएको छ। महाधिवेशनका लागि अब वातावरण तयार भएको निष्कर्ष निकाल्दै पौडेल पक्षले त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढ्न आह्वान गर्ने निष्कर्ष निकालेको हो। यस्तै, पौडेल पक्षले २ दिनभित्र क्रियाशील सदस्यहरुको बाँकी विवाद टुंगो लगाउन पनि पार्टी सभापति देउवालाई दवाव दिने पनि बताएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । इन्डोनेसियामा रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् । रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर रोहित ९ दिन अघि इन्डोनेसिया प्रस्थान गरेका थिए ।
अफगानिस्तानमा इस्लामिक स्टेट समूहको एउटा तल्लो सङ्गठनका रूपमा रहेको आइएस–के समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भीडमा आत्मघाती विस्फोटन गराएसँगै अमेरिकाले जवाफी कार्वाही गरको छ। अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूहले गरेको उक्त हमलामा देश छाड्ने प्रयासमा रहेका दर्जनौँ अफगान नागरिक मारिएका थिए। सोही हमलाको योजनाकारलाई निशाना बनाएर गरिएको जवाफी कारवाही गरिएको अमेरिकाले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २२२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ। नेपालमा आज १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३४१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५८ हजार ८ जना र एन्टीजेन परीक्षणबाट ८२ हजार ७९७ जना पुगेको छ। आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ। आज १३ हजार १७६ जनाको परीक्षण गरिएको छ।





























प्रतिक्रिया