नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको छ ।
एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख सापकोटा, ती सांसदसहितको सनाखतबाट एमाले विभाजन गरेको भन्दै निर्वाचन आयोग र नेकपा (एस)लाई विपक्षी बनाएर ओलीले वारेसमार्फत बुधबार रिट दायर गरेका छन्।
रिट निवेदनको पेसी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ। रिट निवेदनमा साउन २५ गते कारबाही गरेका १४ सांसदलाई पार्टी र सांसदबाट निष्कासन गरिएको र त्यसको कार्यान्वयनका लागि संसद् सचिवालयलाई पत्र पठाउँदा कार्यान्वयन नगरिएको भनिएको छ ।
त्यस्तै, ती १४ जनासँगै सुरुमा हस्ताक्षर नभएका झलनाथ खनाललाई समेत सनाखत गरी नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध रिट दायर गरिएको छ ।
त्यसरी भएका पत्राचार र निर्णय बदरका लागि परमादेश माग गरिएको छ । एमाले यसअघि नै सर्वोच्च जाने निर्णय गरेपनि आयोग र सभामुखले ततः निर्णयको पत्र एमालेलाई नबुझाएको कारण रोकिएको थियो।
बुधबार सबै कागजात पुरा भएपछि एमालेलाई आयोग जान बाटो खुलेको हो। एमाले प्रमुख सचेतक विशाल भट्टराईले सर्वोच्चले एमालेलाई न्याय दिने प्रतिक्रिया दिए।































प्रतिक्रिया