तुइन घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप

तुइन घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ । 

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् । 

धामीको सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको संयोजत्वमा गठित छानविन समितिले गत १५ भदौमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो । 

‘आफ्नो नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ’, ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नागरिकको जीवनसँग जोडिएको गंभीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै एमालेले उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ । 

१५ साउन २०७८ मा महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर दार्चुलाको व्यास गाउँपालिकाका- २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उनी बेपत्ता भएको एक महिनापछि छानविन समितिले प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ । 

साथै, उनका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षा-दीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरिएको छ ।

छानविन प्रतिवेदन आएको छैनः भारत

यसैबीच भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ ।

मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए । 'हामीले पनि मिडिया रिपोर्टसमा देख्यौं । तर हामीसँग यस्तो कुनै खबर आएको छैन । विस्तृत विवरण आएको छैन । औपचारिक रुपमा केही आएको छैन । नेपालको आन्तरिक छानविन प्रतिवेदनबारे हामीलाई कुनै जानकारी छैन । अरु कुनै खबर छैन,' उनले भने ।  न्युज कारखाना
 

Logo