सरकारद्वारा संसद् अधिवेशन आह्वान, प्रतिपक्ष दल भन्छः हेरौं कसरी चलाउछौं !

सरकारद्वारा संसद् अधिवेशन आह्वान, प्रतिपक्ष दल भन्छः हेरौं कसरी चलाउछौं !


गएको साउन ३१ गते देउवा नेतृत्वको सरकारले हठात रुपमा संसद् अधिवेशन अन्त्य गरेको थियो। त्यससँगै  भोलिपल्ट १ भदौमा दल विभाजन सहज हुने गरी दल विभाजनसम्वन्धी अध्यादेश समेत ल्याएको थियो।

अहिले पनि उक्त अध्यादेश निष्कृय भएको छैन, अर्थात् सरकारले फिर्ता गरेको छैन। 

यता हठात रुपमा गरिएको संसद अधिवेशन बोलाउन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।

प्रमुख प्रतिपक्षी दलले भने सरकारले हठात रुपमा यसअघि संसद अधिवेशन अन्त्य गरेर अनावश्यक रुपमा एमाले फुटाउन अध्यादेश ल्याएको लगायतमा विरोध गरिरहेको छ। 

जसको विरोध विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीको प्रत्येक सार्वजनिक कार्यक्रमको अभिव्यक्तिमा देखिन्छ । 

त्यस्तै नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भने आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिएका छन्। 

नेकपा (एमाले) काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो चुनौती दिएका हुन्। 

यसअघि नै एमाले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख सापकोटा विरुद्ध सर्वोच्च गइसकेको छ।

सम्बोधनको अधिकांश समय सभामुखप्रति आक्रामक रुपमा प्रस्तुत भएका पोखरेलले सभामुख सापकोटा सभामुख नभई प्रचण्डको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी गरे। 

‘सभामुखको गतिविधि हेर्नुस्, त्यो संवैधानिक ओहोदा हो। तर, अहिले प्रचण्डको निर्देशन पालना गर्ने कार्यकर्ता जस्तो बनेका छन्’, उनले भने, ‘आउँदो संसद् कसरी चलाउँछन्, त्यसको हिसाबकिताब त्यहीँ गर्छौं।’

नेकपा (एमाले)ले कारबाही गरेका १४ जना सांसदहरुको कारबाहीसम्बन्धी सूचना टाँस नगरेको विषयलाई लक्षित गर्दै सभामुखप्रति पोखरेल आक्रोशित बनेका हुन्।

‘तत्कालीन माओवादीबाट आएका साथीहरुलाई कारबाही गरेको पत्र प्रचण्डले काट्दा २४ घण्टा नबित्दै कार्यान्वयन गर्ने,’ उनले भने, ‘तर नेकपा एमालेले कारबाही गरेको पत्र दिँदा पनि त्यसलाई थन्काएर राख्ने? प्रचण्डको गुरिल्ला बनेका छन् सभामुख।’
 

Logo