कांग्रेसको १३ औंभन्दा १४ औं महाधिवेशनमा के फरक हुन्छ?

कांग्रेसको १३ औंभन्दा १४ औं महाधिवेशनमा के फरक हुन्छ?


कांग्रेसीजनहरू वडा तहको अधिवेशनमा व्यस्त छन्। २१ जिल्लाको वडामा मात्रै अधिवेशन बाँकी छ।

क्रियाशील सदस्यता विवरण सार्वजनिक नहुँदा ती जिल्लाका वडा तहमा अधिवेशन हुन सकेको छैन। वडापछि विभिन्न तहको अधिवेशन हुँदै ९ मंसिरदेखि भने १४ औं महाधिवेशन हुने तय छ।

महाधिवेशन नीति र विचार केन्द्रित हुने कांग्रेसीजनहरू बताउँछन्। त्यसका लागि महाधिवेशन नै पर्खिनुपर्ने हुन्छ। तर, १३ औं भन्दा १४ औं महाधिवेशनमा भने केही भिन्न हुने स्पष्ट छ। त्यो हो–निर्वाचन।

१३ औं महाधिवेशनमा कांग्रेस पदाधिकारीमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो। पदाधिकारीमध्येका दुई उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पद मनोनीत थियो।

यसपाली भने सभापतिसँगै उपसभापति, महामन्त्री, सहमहामन्त्रीदेखि कोषाध्यक्षहरू निर्वाचित भएर आउनुपर्ने भएको छ। याे कांग्रेसको विधान २०७५ अनुसारको व्यवस्था हो।

विधानअनुसार कांग्रेसमा पदाधिकारीअन्तर्गत सभापति–१, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ (आदिवासी जनजाति, खसआर्य, महिला, दलित, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट १–१) जना र कोषाध्यक्ष १ जनाको व्यवस्था छ। 

पदाधिकारीका यी पदहरूमध्ये कोषाध्यक्षमा भने मनोनीतको व्यवस्था छ। निर्वाचित सदस्यहरूमध्येबाट कोषाध्यक्ष मनोनीत गर्न सकिने प्रावधान विधानमा छ। निर्वाचित भन्दा पनि मनोनीतहरूको संख्या बढेपछि विधानसभा बैठकमार्फत् कांग्रेसले २०७५ मा यो व्यवस्था गरेको हो।

१३ औं महाधिवेशनमा पदाधिकारीसँगै विभिन्न पदमा गरी ६२ जना निर्वाचित भएका थिए। ६३ जना भने मनोनीत। निर्वाचित भन्दा मनोनीत बढी भएपछि यो व्यवस्थामा कांग्रेस गएको हो।

सोही कारण १४ औं महाधिवेशनमा निर्वाचन लडेका नेताहरू पराजित भए केन्द्रीय समितिबाट ‘रिङ आउट’ पनि हुनेछन्।

यसअघि १३ औं महाधिवेशनमा भने सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका रामचन्द्र पौडेल केन्द्रीय सदस्यमा मनोनीत भए। हाल उनी वरिष्ठ नेताको हैसियतमा छन्।

सभापति पदमै पराजित अर्का नेता कृष्णप्रसाद सिटौला पनि केन्द्रीय सदस्य छन्। महामन्त्री पदमा पराजित अर्जुननरसिंह केसी, गगन थापा, कोषाध्यक्ष पदमा पराजित चित्रलेखा यादव पनि हाल केन्द्रीय सदस्य पदमा छन्।

विधानतः यो महाधिवेशनमा भने पदाधिकारीमा पराजित भएका कोही पनि केन्द्रीय समितिमा नरहने भएको हो। 

Logo