१४ सांसद बैठकमा आए सदन चल्न दिँदैनौं-एमालेः हामी आउँछौं-एकीकृत समाजवादी

१४ सांसद बैठकमा आए सदन चल्न दिँदैनौं-एमालेः हामी आउँछौं-एकीकृत समाजवादी


आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद उपस्थित भए प्रतिनिधि सभाको बैठक चल्न नदिने नेकपा एमालेले बताएको छ।

प्रतिनिधि सभाको बैठक आज चार बजेबाट बस्दैछ। त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए।

उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन। हामीले साउन २५ गते नै निष्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं?’

उनले अघि भने, ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन सुरु नै हुन दिँदैनौं।’ तर, यता माधव नेपाल नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी भने सदनको दुवै बैठकमा उपस्थित हुँदैछ। 

नेकपा एसले आजै संसदीय दलको बैठक पनि बोलाएको छ। तपाईंहरू बैठकमा सहभागि हुने कि नहुने भन्दै पार्टीका केन्द्रीय सदस्य सांसद निरा जैरुलाई प्रश्न गर्दा हामी बैठकमा किन जान नहुने भन्दै प्रश्न गरिन?

‘कोही कसैले नआईज आईज भन्दा जाने नजाने भन्ने हुन्छ र हामी संसद बैठकमा सहभागि हुन्छौं’, जैरुले भनिन्।

जैरुले फेरि थपिन्, माधव समूहले गर्दा प्रतिगमन गर्दै हिँड्नेहरूको जागिर बाँचेको हुँदा ती प्रतिगमनकारीहरू चाहिँ कुन मुख लिएर आउँछन्, लाज उनीहरूलाई हुनुपर्ने होइन र? हामी त सहभागि हुन्छौं।

अब विपक्षीको अवरोधका बीच सभामुखले सदन कसरी संचालन गर्छन् चासोपूर्वक हेरिएको छ।

नेकपा एस पनि बैठकमा सहभागि रहने हो भने आजको बैठक सञ्चालन नहुने निश्चित भएको छ।

Logo