एमसीसी उपाध्यक्ष फातिमाले सबैभन्दा सुरुमा किन भेटिन् ओलीलाई ?

एमसीसी उपाध्यक्ष फातिमाले सबैभन्दा सुरुमा किन भेटिन् ओलीलाई ?


मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाकी उपाध्यक्ष फातिमा सुमार नेपालको चारदिने भ्रमणमा छिन्।

भ्रमणमा रहेकी उपाध्यक्ष फातिमाले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता सुरु गरेकी छिन् । 

उनले अध्यक्ष ओलीसँग करिव एक घन्टा भेट गरिन्। भेटपछि उनले अन्य दलका शीर्ष तहका नेताहरूसँग भेटवार्तामा छिन्।

विदेशबाट नेपाल भेटमा आउने पाहुनाले सुरुमा प्रायः सत्तापक्षलाई भेट्ने गर्छन्। सरकारको निमन्त्रणाबाहेक पनि नेपाल भ्रमण गर्ने विशेष पाहुनाहरूले पहिलो प्राथमिकता सत्तापक्षलाई नै राख्ने गर्छन् तर, उपाध्यक्ष फातिमाले भने सत्तापक्षलाई छाडेर प्रमुख प्रतिपक्षी दलका नेतालाई भेटिन्।

उनले किन यस्तो गरिन् भन्ने प्रश्नमा राजनीतिक विश्लेषक भीम भूर्तेल हिजो सत्तामा ओली हुँदा पास गर्न खोजेको तर, अहिले ओलीले हुँदैन भनेकाले उनलाई महत्व दिएको हुन सक्ने आँकलन गरे।

‘हिजो ओली सत्तामा हुँदा पास गर्न खोजेका थिए एमसीसी तर, अहिले ओलीले हुँदैन भनेको हुँदा ओलीलाई महत्व दिएको हुन सक्छ, तर पहिलो भेटले त्यस्तो केही राजनीतिक अर्थ राख्दैन,’ यसो पहिलो भेट तपाईंसँग गरेको छु पास गर्र्न सहयोग गर्नुहोस् भन्ने कुरासम्म हुन सक्छ’, भूर्तेलले भने।

नेपालमा चरम विवादित एमसीसी सम्झौता पारित गराउन ओलीले आफू प्रधानमन्त्री हुँदा निकै जोडबल गरेका थिए । 

सो सम्झौता संसदबाट पारित गराउन उनले २०७६ असार ३० गते संसदमा पेश गर्न लगाएका थिए । 

तर, प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदन गराउने प्रकृया तत्कालीन सभामुख कृष्णबहादुर महराले रोकिदिएका थिए । 

आफ्नो कार्यकालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७५ पुसतिर अमेरिका पठाएका ओलीले वासिङ्टनको विश्वास जित्न पनि निकै कोशिस गरेका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवा भने जुनसुकै हालतमा संसदबाट एमसीसी पारित गराउने लाइनमा छन् । 

यही बीचमा ओलीलाई एमसीसी उपाध्यक्षले नेपाल आएकै दिन भेटेकी हुन् । अमेरिकी रणनीति एमाले र सो पार्टीका अध्यक्षलाई विश्वासमा लिइराख्ने जस्तो देखिन्छ । 

राजनीतिक विश्लेषक भीम भूर्तेतलाई एमाले एमसीसीको पक्षमा रहला कि विपक्षमा भन्ने प्रश्नमा उनले ओली नेतृत्वको सरकार अन्य कारणसहित यही एमसीसीका कारणले ढलेको हुँदा ओलीले सहयोग गर्नेमा शंका रहेको बताउँछन्।

‘प्रचण्डले पनि भोट गर्दैनन्, मधेश केन्द्रीत दलले पनि अन्त्यमा सहयोग गर्लान् जस्तो छैन, एमालेलाई पनि सरकार ढलेको पिर छ। संसद्मा कांग्रेसबाहेक अन्यले भोट हाल्लान् जस्तो म चाहिँ देख्दिन । रह्यो कुरा नेकपा एकीकृतको त्यहाँ पनि आधा पक्षमा र आधा विपक्षमा छन्। त्यसैले, एमालेले सहयोग गरोस् भन्ने एमसीसीको चाहना छ’, भूर्तेलले भने।
  

Logo