ज्ञवाली नै एमाले पार्टी प्रवक्ता हुन्ः योगेश भट्टराई

ज्ञवाली नै एमाले पार्टी प्रवक्ता हुन्ः योगेश भट्टराई


शनिबार विहान बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठक पुनः तीन बजे बस्ने गरी स्थगित भएको छ।

आज बिहान बसेको बैठकमा भने आगामी विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिबारे छलफल भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराईका अनुसार विधान महाधिवेशनमा करिब ३ हजार जना प्रतिनिधि सहभागी गराउने विषयमा छलफल भएको छ । 

तर को को सहभागी हुने भन्ने विषय टुंगिएको छैन । त्यसका लागि शनिबार दिउँसो ३ बजे पुन बैठक बोलाइएको छ ।

भट्टराईका अनुसार विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी गराउने प्रस्ताव पार्टी संगठन विभागले राखेको छ ।

एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुन्थे । 

तर नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाउन लागेको भट्टराईले बताए ।

त्यस्तै दिउँसो ३ बजे हुने बैठकमा विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक, संगठनिक र विधानसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमाथि पनि छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

त्यस्तै भट्टराईले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। संसद्कै ठूलो दलसँग छलफल नै नगरी र कार्यव्यवस्थाको बैठक नै नगरी मनमौजी ढंगले चलेको उनको आरोप छ।

उनले भनेका छन्,‘सभामुखको आसन बीचमा हुन्छ, किनकी त्यो स्वतन्त्र पद हो । तर, उहाँको भूमिका अहिले निष्पक्ष देखिएन। त्यही भएर हामीले विरोध गरिरहेका छौं।’

यस्तै पार्टी जेठ २ अघिको अवस्थामा फर्किएपनि योगेश भट्टराई प्रवक्तमा फर्किएनन्, जसको कारण १० बुँदे कार्यान्वयनमा शंका उत्पन्न भयो भन्ने प्रश्नको जवाफमा भने भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको प्रष्ट पारेका छन् ।

भट्टराईले अहिले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको बताए । अर्को बैठकले प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्ने निर्णय गर्नेसमेत उनले बताए ।

उनका अनुसार जेठ २ अघि प्रवक्ता पद नभएकाले यसबीचमा फागुन २३ पछि आफूहरु बैठकमा नआएका बेला प्रवक्ता पद सिर्जना भएकाले ज्ञवाली नै सो पदमा रहेको प्रष्ट पारे ।

Logo