भारतकाे मधुवनी जिल्लासँग जोडिएका सीमा नाका सिल गरिने

भारतकाे मधुवनी जिल्लासँग जोडिएका सीमा नाका सिल गरिने


नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सदृढ बनाइने भएको छ। भारतको विहार राज्यको सीमावर्ती मधुवनी जिल्लामा हुन लागेको ग्रामपञ्चायत चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रको सुरक्षामा कडाइ गरिने भएको हो।

दुबै देशका सुरक्षा अधिकारीहरूको सोमबार बसेको संयुक्त बैठकले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने निर्णय गरिएको छ। दुबै देशका पदाधिकारीबीच चुनावको ४८ घण्टा अगाडि नै सीमा नाका सिल गर्ने निर्णय भएको छ। मधुवनी जिल्लामा सेप्टेम्बर २९ तारिखबाट ग्रामपञ्चायतको चुनाव हुन लागेको हो।

११ चरणमा हुने चुनावलाई नेपालबाट पूर्ण सहयोग रहने नेपाली सुरक्षाकर्मीले भारतीय पक्षलाई बताएका छन्। नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागूऔषध ओसारपसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधी लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएका थिए।

बैठकमा अवैध सामान ओसार पसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा समेत दुबै देशका सुरक्षा अधिकारीबीच छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। 

बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र  प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा भारतकातर्फबाट विहार दरभंगाका डिभिजनल कमिश्नर डा. मनिषकुमार, मधुवनी जिल्लाका डिएम अमित कुमार, मधुवनीका प्रहरी उपरीक्षक सत्यप्रकाश लगायत सुरक्षा अधिकारीको सहभागिता रहेको थियो।न्युज कारखाना

Logo