न एमाले भनेर बस्नु, न समाजवादीमा लाग्नु, एमालेका १० भाईको १० बुँदेले पार्यो बिचल्ली

न एमाले भनेर बस्नु, न समाजवादीमा लाग्नु, एमालेका १० भाईको १० बुँदेले पार्यो बिचल्ली


पूर्व माधव नेपाल समूहमा रहेका नेकपा एमालेका १० भाईको विचल्ली हुने देखिएको छ। १० बुँदे पार्टी एकता सहमति कार्यान्वयन हुन नसकेपछि उनीहरूको विचल्ली हुने अवस्था देखिएको हो।

एमालेभित्र आन्तरिक एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको पछिल्लो समय उनीहरूले असन्तुष्टि जनाउदै आएका छन्।

विधान महाधिवेशनको तयारीमा रहेको एमालेभित्र यसअघिको अन्तरसंघर्ष साम्य पार्न गरिएको १० बुँदे सहमति कार्यान्वयनकै विषय टड्कारो रुपमा उठेको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा  तत्कालीन माधव नेपाल समूहमा रहेका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बैठकमै प्रश्न उठाएका थिए।

पार्टी विभाजनलाई अस्वीकार गर्दै भदौ २ पछि एमालेको बैठकमा फर्किएका नेताहरू १० बुँदे सहमतिकै आधारमा एमालेलाई एकताबद्ध बनाउन तयार भएका थिए । 

तर, उक्त सहमतिअनुसार पार्टीका संरचना र जिम्मेवारीहरू क्रियाशील गराउन अध्यक्ष केपी शर्मा ओली पक्ष तत्पर नभएपछि असन्तुष्टि झनै झाँगिएको छ।

१० बुँदे सहमतिको खाका तयार पार्न तत्कालीन माधव नेपाल समूहबाट कार्यदलका सदस्य समेत रहेको भीम रावल स्वयम्ले पार्टीको केन्द्रीय कमिटि बैठकमा उक्त सहमतिलाई अक्षरस पालना गर्नुपर्ने धारणा राखेका छन्।

शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा १० बुँदे सहमतिलाई कार्यान्वयनको एजेन्डा बनाउन उपाध्यक्ष भीम रावलले माग गरेका थिए । 

केन्द्रीय सदस्य झपट रावल र भानुभक्त जोशीले पनि सुदूरपश्चिममा समस्या देखिएको भन्दै भीम रावलको मागलाई समर्थन गरेका थिए । 

सबैभन्दा बढी चिढिएका रावल

त्यसो त सुदूरपश्चिममा जेठ २ को संरचनाअनुसार भीम रावल इन्चार्ज हुनुपर्ने हो । तर अध्यक्ष ओलीले माओवादी केन्द्र छोडेर आएका लेखराज भट्टलाई इन्चार्ज बनाउने घोषणा गरेपछि रावल सबैभन्दा बढी चिढिएका छन् ।

यो बीचमा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि झन् १० बुँदे सहमति पक्षधर नेताहरू चिढिएका हुन् ।

ओली र पोखरेलले प्रायःजसो सार्वजानिक मञ्चहरूमा पार्टी जेठ २ अघिको संरचनामा जान नसक्ने तर्क राख्दै आएका छन्।

पूर्व माधव नेपाल समूहमा रहेका एमाले सांसद नारायण खतिवडाले पनि १० बुँदे अक्षरस पालना गर्नुपर्ने मत राख्छन्। उनी भन्छन्,‘अहिले पार्टीमा १० बुँदे कार्यान्वयनको समस्या देखिएको छ। जुन हामीले १० बुँदेलाई पालना गर्नुपर्ने माग राखेका छौं, त्यहीअनुसार पार्टी अघि बढ्न जरुरी छ। नभए यसले पार्टीलाई अस्थिर बनाउँछ । जीवन्त पार्टीमा समस्या आउछ नै, त्यसलाई त्यहीअनुसार हल गर्नुपर्छ।’

त्यसो त एमाले पार्टी जेठ २ अघिको संरचनामा जाँदा सुदूरपश्चिम प्रदेशको ईन्चार्ज भीम रावल हुनुपर्ने हो । त्यस्तै बागमती प्रदेश र प्रदेश १ को ईन्चार्ज क्रमशः अष्टलक्ष्मी शाक्य र भीम आचार्य हुनुपर्ने हो । तर, एमालेको २८ फागुनमा बसेका एमाले बैठकले सुदूरपश्चिम प्रदेशको ईन्चार्ज लेखराज भट्ट, बागमतीमा रामबहादुर थापा बादल र प्रदेश १ मा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको थियो। 

ती प्रदेशहरूका ईन्चार्ज यथावत राख्ने अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलको ईच्छाले पार्टीभित्र असन्तुष्टि मौलाएको हो। 

त्यतिमात्र नभएर केही जिल्लाहरूमा १० बुँदे कार्यान्वयन नभएको भन्दै विरोधका स्वरहरू उठिरहेका छन्।  

तत्कालीन माधव नेपाल समूहमा रहेका नेताहरू भने पार्टीमा अहिले सोही २७ असारमा भएको १० बुँदे सहमति पालना गर्नुपर्ने माग राखिरहेका छन्। उनीहरूले अन्तरपार्टी निर्देशिका अपानि–१२ लाई छलफलको एजेण्डा बनाउन माग राख्दै आएका छन्। 

१३ भदौमा जारी उक्त अपानिमा १० बुँदे सहमति कार्यान्वयन गर्ने लेखिएको छ। तर, नेकपा एमाले तत्काल त्यो दिशामा जाने जस्तो देखिदैन। 

नेकपा एमालेका केन्द्रीय कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले भीम आचार्य, अष्टलक्ष्मी शाक्य, भीम रावल जेठ २ अघि प्रदेश ईन्चार्ज नरहेको जिकिर गरे।

‘नेकपा एमालेले बाहिर आएजस्तो हल्ला पार्टीभित्र कोही कसैमा असन्तुष्टि रहेको छैन । अहिले नेकपा एमाले जेठ २ र जेठ २ पछिको काम कारवाहीलाई अंगिकार गर्दै अगाडि बढ्छ,’ उनले भने,‘भीम आचार्य, अष्टलक्ष्मी शाक्य, भीम रावल जेठ २ अघि प्रदेश ईन्चार्ज हुनुहुन्न थियो। अब कार्यविभाजन पार्टीले कसरी गर्छ, त्यसलाई मानेर अघि बढ्छौं।’

त्यसो त नेकपा एमालेमा १० बुँदे कार्यान्वयन गर्नुपर्ने स्वरहरू उठ्न थालेपछि पूर्व माओवादी केन्द्र त्याग गरेर एमालेमै समाहित भएका नेताहरू अहिले संकटमा परेका छन्।
पूर्ववत जिम्मेवारी खोसिने डर उनीहरूमा छ । तथापि अहिले सबैभन्दा बढी संकट भने सत्तारुढ गठबन्धनलाई दुई तिहाइ बहुमत पुग्न नदिने गरी १० बुँदे मार्फत् एमालेमै बसेका नेताहरूमा रहेको राजनीतिक विश्लषेकहरूको जिकिर छ। 

राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी भन्छन्,‘उनीहरूले हिजो एमालेको किन बिरोध गरे, आज किन एमालेमा आए, त्यो कुरा महत्व हो। उनीहरू चोखो मनले एमालेमा फर्किएका हुन् कि होइनन्, त्यो महत्वपूर्ण हो।’ 

‘१० बुँदेको आडमा एमालेमै फर्किएका युवाहरूको यही १० बुँदे अडानले राजनीति समाप्त पार्छ,’केसीको जिकिर छ ।

 

Logo