२३ दिनपछि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

२३ दिनपछि कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । गत पुस ७ गतेदेखि सुरु भई पुस १९ सम्म चलेको बैठक आज पुनः बस्न लागेको हो। आजको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइएको छ। यसअघि चलेको बैठकमा २१ जना सदस्यले मात्रै आफ्नो धारणा राखेका छन्।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि यसको विरोधमा उत्रिएको कांग्रेसमा पनि दुई पक्ष स्पष्ट देखिएका छन् । पौडेल पक्ष प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् । तैपनि विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको कांग्रेसले यस अघि सबै निर्वाचन क्षेत्र, प्रदेश सभा, स्थानिय तह र वडास्तरमा विरोध कार्यक्रम संचालन गरिसकेको छ ।

एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । कांग्रेसको शिक्षा केन्द्रीय विभागको सोमबार बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ ।

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७/७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु¥याएको जनाएको छ । बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आफ्नो विचार प्रकट गर्न संविधानले दिएको छ

यसैबीच नेपाली कांग्रेसले फरक मत राख्न तथा आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध उठेका विरोधका स्वरलाई देश विरोधी र भनेर लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन सरकारलाई चेतावनी दिएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सरकारको सर्वोच्च अदालत र प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको टिप्पणी गरेको छ। प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्ति आफ्नै मर्यादित जिम्मेवारीविरुद्ध रहेको आरोप पनि प्रवक्ता शर्माले लगाएका छन्।

Logo