मन्त्रिपरिषद् विस्तार सत्तारुढ दलको आन्तरिक विषय, प्रधानन्यायाधीशको समाचारमा सत्यता छैनः कानुनमन्त्री

मन्त्रिपरिषद् विस्तार सत्तारुढ दलको आन्तरिक विषय, प्रधानन्यायाधीशको समाचारमा सत्यता छैनः कानुनमन्त्री

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको चासोबारे प्रकाशित समाचारमा कुनै सत्यता नरहेको जिकिर गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको चासोबारे प्रकाशित समाचारमा कुनै सत्यता नरहेको जिकिर गरेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान्यायाधीशसँग संवाद नभएको बताएका थिए। उनले स्वतन्त्र न्यायालयलाई लाञ्छना लगाउन स्वार्थ समूहले चलखेल गरेको हुनसक्ने बताए।

बैठकपछि सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार नितान्त सत्तारुढ दलहरूको आन्तरिक विषय भएको बताए। 

‘मन्त्रिपरिषद विस्तारको संवैधानिक दायित्व प्रधानमन्त्रीको हो। यसबारे सत्तारुढ दलभित्र आवश्यक छलफल भएकै छ। यसमा प्रधानन्यायाधीश वा अरु कसैको संलग्नताको आशंका गर्नु बेकारको कुरा हो’, कार्कीले भने।

उनले न्यायालयको गरिमा बिगार्ने उद्देश्यले सुनियोजित प्रचार गरिएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त अनुसार नै मुलुक अगाडि बढिरहेको दाबी गरे।

Logo