आज पनि भएन मन्त्रिमण्डल बिस्तारः शुक्रबार पक्का

आज पनि भएन मन्त्रिमण्डल बिस्तारः शुक्रबार पक्का

केन्द्रबिन्दु
0
Shares

नयाँ सरकार गठन भएको ८८ दिनपछि मन्त्रिमण्डल भोलि शुक्रबार पूर्णता पाउने भएको छ। 

गठबन्धनको शीर्ष नेताहरू आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी बैठकमा जुटेका थिए । तथापि विभिन्न कारणले आज मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनका एक नेताले केन्द्रबिन्दुसँग भने।

‘आजैको तयारीमा जुटेका थियौं, तर, दलहरूको आन्तरिक तयारी पुगेन । शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको छ,’ती नेताले भने।

आज करिव ३ घन्टा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच निर्णायक छलफल भएको थियो।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

तथापि बैठकमा राष्ट्रिय जनमोर्चा पक्षका कोही पनि सहभागी थिएनन्। राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताएकाले पनि बैठकमा नआएको हुन सक्ने आँकलन गरिएको छ।

गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठकले ती विषय पनि हल गरेको बालुवाटार स्रोतले बताएको छ।

अहिले सतही रुपमा असन्तुष्टि व्यक्त गरिरहेको नेकपा एकीकृत समाजवादीको हकमा प्रदेश १ र बागमतीमा मुख्यमन्त्री दिएर भएपनि मिलाएर लिएर जाने भन्दै गठबन्धनले सहमति गरेको पनि एक नेताले बताए।
 

Logo