केन्द्रबिन्दु बुलेटिन : ‘प्रधानमन्त्री ओलीका अभिव्यक्ति अलोकतान्त्रिक’-कांग्रेस (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘प्रधानमन्त्री ओलीका अभिव्यक्ति अलोकतान्त्रिक’-कांग्रेस (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति अलोकतान्त्रिक बन्दै गएको भन्दै कांग्रेसले त्यसप्रति आपत्ति जनाएको छ । सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति अलोकतान्त्रिक हुनुका साथै त्यसले अधिनायक आकांक्षालाई थप उजागर गरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको मिति तय गरिएपनि यस सम्बन्धमा विभिन्न तवरबाट टिप्पणी हुन थालेको छ । जसमध्ये निर्वाचनमा हुने खर्च फजुल खर्चका रुपमा चित्रण गर्न थालिएको छ । तर, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विषयको बचाउ गरेका छन् । उनले निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने तर्क अघि सारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । जस अन्तर्गत यही माघ १३ गतेदेखि २८ गतेसम्मका लागि सिट्ठी जुलुशदेखि बृहत विरोध प्रदर्शनका कार्यक्रमहरू तय गरिएको छ । यसैबीच पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको आन्दोलन र संघर्ष गलत विचारको विरुद्दमा भएको जिकिर गरेका छन् ।

उत्तर भारतीय राज्यको सिक्किमको नाकु लामा भारत र चीनका सीमा सुरक्षा फौजबीच झडप भएको छ । भारतीय सञ्चार माध्यमहरूमा उल्लेख भए अनुसार सक्किमको तिब्बतसँग जोडिएको नाकु लामा चिनियाँ सुरक्षा दस्ताले घुसपैठ गर्न खोजेपछि झडप भएको हो ।

राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा भएका छुट्टाछुट्टै खेलमा नेपाल पुलिस क्लवद्वारा प्रदेश २ चार विकेटले पराजित भएको छ भने, एपिएफले आर्मीमाथि ६ रनको जित दर्ता गरेको छ ।

Logo