महिलालाई हरेक निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुँदैन: मन्त्री रेग्मी

महिलालाई हरेक निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुँदैन: मन्त्री रेग्मी

केन्द्रबिन्दु
0
Shares

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छन् । पत्रकारसँग आज  कुराकानी गर्दै उनले ऐन, कानुनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताइन् ।

कानुनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताइन् । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्षसमेत रहेकी रेग्मीले आफूले राजनीतिक जीवनमा महिला, बालबालिका र ज्येष्ठ नागरिकले भोगेका पीडा नजिकबाट बुझेकोले पनि यो मन्त्रालय रोजेको बताएकी छन् । यससँगै महिलालाई राजनीतिक दल र सरकारी निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुन नसक्ने उनले बताइन् । 

उनले भनिन्, “समतामूलक समाजका लागि ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन सक्नुपर्छ ।” अहिले महिलाको प्रतिनिधित्व एक तिहाइ भए पनि नेतृत्वमा पछि परेको रेग्मीको भनाइ छ ।

अर्को एक प्रसङ्गमा रेग्मीले अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिकलाई घर–घरमा भत्ता दिने गरी मन्त्रालयले काम गर्ने बताइन् । उनले भने, “घरमा नै पुगेर भत्ता वितरण गर्ने योजना बनाउँदैछु ।” बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै उनले तत्काल खोपको व्यवस्थाका लागि मन्त्रालयले पहल गर्ने बताइन् । उनले थपिन,“बालबालिकालाई तत्काल खोप दिनुपर्छ ।” सडकमा बेवारिसे मानवमुक्त बनाउन सामाजिक सङ्घ संस्थासँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने मन्त्री रेग्मीको भनाइ थियो ।

Logo