महाधिवेशन कुनै हालतमा तोकिएकै मितिमा हुनुपर्छ, सार्न पाइँदैन: प्रकाशमान सिंह

महाधिवेशन कुनै हालतमा तोकिएकै मितिमा हुनुपर्छ, सार्न पाइँदैन: प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने माग गरेका छन्। सभापति शेरबहादुर देउवासहित पदाधिकारीले महाधिवेशन माघसम्म सार्ने तयारी गरिरहेका बेला नेता सिंहले अब सार्न नहुने धारणा राखेका हुन्।

‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ। क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यस अघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’

बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको सुनाए। पार्टीलाई ठिक ठाउँमा ल्याउनका लागि विधि र पद्धतिको सबैले सही ढंगले पालना गर्नुपर्नेमा उनको जोड थियो।  

अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसके पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नु पर्ने उनको भनाइ छ। राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए।

सिंहले नेतृत्वले परम्परा र मूल्य मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको आरोप लगाए। १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धति र मूल्य मान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको उनको तर्क छ।

उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता रहेकोसमेत औंल्याए। पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने, तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो।

गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे। पार्टीभित्रको ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेस हटाउनुपर्ने भन्दै उनले जनताको इच्छा र चाहनाअनुसार काम गर्न सक्ने पार्टीको रुपमा कांग्रेसलाई पुन: स्थापित गर्न आफू लागि परेको दाबी गरे।

हरेक आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताए। राजनीतिमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै सिंहले धेरै अवरोधहरुको सामना गर्दै आएको स्मरण गरे। अरु क्षेत्रमा असफल भएर आफू राजनीतिमा आएको व्यक्ति नभएको उनले स्पष्ट पारे। अब जनताले चाहेको आर्थिक सम्पन्ताको अभियानमा पनि कांग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठिक नेताको आवश्यक रहेको उनले जिकिर गरे।

Logo