एमाले महाधिवेशन: तेह्रथुमका ६ वटै पालिकामा आज अधिवेशन नहुने

एमाले महाधिवेशन: तेह्रथुमका ६ वटै पालिकामा आज अधिवेशन नहुने


तेह्रथुमका ६ वटै स्थानीय तहमा आज एमालेको पालिका अधिवेशन नहुने भएको छ। एमालेले ७५३ वटै पालिकामा एकै साथ अधिवेशन गर्ने भने पनि तेह्रथुममा आज अधिवेशन नहुने भएको हो। 

बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जिल्लाको सबै वडामा अधिवेशन सम्पन्न नभएकाले आज पालिका अधिवेशन नहुने भएको एमाले जिल्ला सचिव शिव ढुंगानाले बताए। जिल्लाको ४३ मध्ये २० वटा वडामा मात्रै वडाअधिवेशन सम्पन्न भएको र बाँकी वडामा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिका अधिवेशन हुने जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए। 

जिल्लाको ६ वटा स्थानीय तहहरूमध्ये म्याङलुङ नगरपालिकामा आठ, छथर गाउँपालिकामा एक, लालिगुराँस नगरपालिकामा एक, फेदाप गाउँपालिकामा दुई,मेन्छ्यायेम गाउँपालिकामा ६ र आठराई गाउँपालिकामा दुईवटा वडामा अधिवेशन सम्पन्न भएको छ। 

१३ कात्तिकमा सबै वडा सम्पन्न गर्ने तयारी भएको जनाइएको छ। पालिका अधिवेशन भने कात्तिक मसान्तसम्म सम्पन हुने भएको सदस्य फोम्बोले बताए। 

Logo