एमालेको अवरोधमै रूमलियाे संसदकाे नवौँ अधिवेशन, आज रातिदेखि अन्त्य हुँदै

एमालेको अवरोधमै रूमलियाे संसदकाे नवौँ अधिवेशन, आज रातिदेखि अन्त्य हुँदै

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको नवौँ अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य हुँदैछ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन शुक्रबार मध्यरातिबाट अन्त्य गरेकी हुन्। 

गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो। तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबारी सहेर आएको प्रतिनिधिसभाले अन्तिम बैठक बिहीबार (हिजो) पनि नाराबाजी खेपेको थियो। 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरू रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहे। तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए। 

सोही क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयकजस्ता महत्वपूर्ण विधेयक पारित गरेको संघीय संसदका दुवै सदनले निरन्तर एमाले सांसदको अवरोध खेप्यो। तर, पारित र स्वीकृत भएका विधेयक, प्रस्तावहरूमाथि घनिभूत रूपमा छलफल गराउन भने प्रतिनिधिसभा चुकेको छ। 

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेकका सांसदहरू छलफलमा सहभागी भएनन्। प्रतिपक्षी सांसद नाराबाजीमै रहे पनि सरकार समर्थित सांसदहरू हतारमै विधेकय पारित गराउन लागि परे। 

अन्ततः ४८ दिनमै संघीय संसदको दुवै सदनको अधिवेशन शुक्रबार मध्यराति १२ बजेबाट अन्त्य हुने संसद सचिवालयले सांसदहरूलाई जानकारी गराएको छ। 

सचिवालयले जारी गरेको सूचना 

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/०७/११ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन , सम्वत् २०७८ साल कार्तिक १२ गते शुक्रबार राती १२ः०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल कार्तिक ११ गतेको प्रतिनिधि सभाको बैठकबाट कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमशः प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

डा. भरतराज गौतम
संघीय संसदको महासचिव

Logo