गणेशमान सिंहको आज १०७ औं जन्मजयन्ती, के छ उनको राजनीतिक योगदान?

गणेशमान सिंहको आज १०७ औं जन्मजयन्ती, के छ उनको राजनीतिक योगदान?


गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका वरिष्ठ राजनीतिज्ञ हुन्। प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी। उनको जन्म वि.सं.१९७२ कार्तिक २४ गते भएको थियो। 

काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणाशासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए। भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रवास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए। 

भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो। 

विसं. २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । 

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे। त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्ध सक्रिय रहे।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। ०३९ सालमा बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। 

राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायतबिरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । पार्टीभित्र कुनै पनि पदको लोभ नभएका निडर र हक्की स्वभावले गणेशमान सधैं सबैका प्रिय बने । जीवनको उतरार्धतिर उनी पार्टीबाट केही असन्तुष्ट रहँदै पार्टीका कुनै पनि भूमिकामा रहन चाहेनन्। उनको निधन ०५४ असोज २ गते भएको थियो। उनका छोरा प्रकाशमान सिंह अहिले नेपाली कांग्रेसमा उपसभापति छन्।

चुनावमा कसैसँग तालमेल गर्न जरुरी छैन, कांग्रेस आफ्नै बलबुतामा लड्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन्। सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन। आफ्नै बलबुतामा लड्नु पर्छ।’

कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताउँदै सिंहले आर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताए। ‘त्यसपछि मात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जली मानिनेछ,’ गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने ।

सिंहले अर्ली इलेक्सनबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए। ‘अर्ली इलेक्सन विधिसम्वत आयोस्। तर, संविधान र विधि अनुसार गर्नुपर्छ। संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव हुनु हुँदैन,’ उनले भने।

राजनीतिक समिति संविधानविपरीत : सिंह

सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ। यो समितिको एमालेले विरोध गरेको छ। 

कांग्रेस नेता सिंह पनि समितिको विपक्षमा उभिएका छन्। ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ,’ उनले भने।

कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, ‘ डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो? राज्य सरकारले सञ्चालन गर्ने हो। पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ। सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संवधानविपरीत हुन जान्छ।’ 

Logo