काठमाडौँ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने उनको भनाई छ ।
संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धितर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको उनको दावी छ । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्याे भन्ने बुझाई गलत भएको समेत उनले बताए । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव पर्याे भन्ने अर्थमा बुझ्न नहुने तर्क उनको छ ।
जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधिसभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिन प्रतिनिधिसभा नभई स्थिरता, विकास र समृद्धितर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधिसभाको निर्माण अहिलेको माग रहेको उनको दावी छ ।































प्रतिक्रिया