चोलेन्द्रविरोधी आन्दोलन अन्योलमा, देउवाकै कार्यकर्ता अनशनमा

चोलेन्द्रविरोधी आन्दोलन अन्योलमा, देउवाकै कार्यकर्ता अनशनमा

केन्द्रबिन्दु
0
Shares

प्रचलनमा आयो ई-पासपोर्ट, कति तोकियो शुल्क?

सरकारले बुधबारदेखि नेपालमा विद्युतीय राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ। राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई-पासपोर्टको लागि औँठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन्। करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई-पासपोर्ट वितरण थालेको हो।

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई-पासपोर्ट दिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले ई-पासपोर्ट हस्तान्तरण गरेका छन्।

शुल्क कति ?

विभागले अब छ प्रकारका राहदानी जारी गर्नेछ। साधारण राहदानी हलुका खैरो रङमा हुनेछ । यो राहदानी ३४ पृष्ठ र र ६६ पृष्ठ गरी दुई किसिमका हुनेछन्। धेरै विदेश गइरहनु पर्ने नागरिकले ६४ पृष्ठको राहदानी बनाउन सक्नेछ।

३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालय र नियोगमार्फत नियमित प्रक्रियाबाट बनाउँदा पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ। तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ।

नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता रहेको राष्ट्र बैंकको निष्कर्ष

नक्कली धनीपुर्जा धितो राखेर कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको प्रकरणमा प्रारम्भिक अनुसन्धानले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिनाको संलग्नता देखिएको छ।

प्रारम्भिक अनुसन्धानले कार्यबाहक सीईओका रूपमा रहेका तिमल्सिनाको संलग्नता देखिएको नेपाल राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ। बैंकहरूमा सानो परिमाणको ऋण बैंकको शाखा कार्यालयले नै स्वीकृत गर्ने र ठूलो परिमाणको ऋण बैंकको प्रधान कार्यालयबाट मात्र स्वीकृत हुने गरेको छ।

टी-२० सिरिजको दोस्रो खेलमा कतारलाई १३० रनको लक्ष्य

टी-२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १३० रनको लक्ष्य दिएको छ। दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो ।

नेपालका लागि कप्तान रुविना क्षत्रीले अर्धशतकीय पारी खेलिन्। उनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाइन् ।

यो उनको पहिलो टी-२० अर्धशतक हो। यससँगै उनी नेपालबाट टी- २० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने पहिलो महिला कप्तानसमेत बनेकी छन्। नेपालका लागि टी- २० मा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी हुन्।

यसअघि कतारसँगको पहिलो खेलमा नेपालका लागि पहिलो अर्धशतक इन्दु बर्माले बनाएकी थिइन्।

मुख्यमन्त्री राईले पाए ५० सांसदको विश्वास

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ। बुधबारको प्रदेशसभा बैठकमा भएको मतदानमा राईको पक्षमा ५० मत प्राप्त भएको हो। त्यस्तै, उनको विपक्षमा २९ मत परेको छ । दुवै पक्षमा मत दिन्नँ भन्नेमा अर्थात् तटस्थमा शून्य मत परेको थियो । मतदानमा ७९ जना सदस्यहरू सहभागी भएका थिए।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ जना सांसद छन्, जसमध्ये एक जना सभामुख छन् भने एक जना फरार छन्।

प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन अन्योलमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदबाट हटाउन सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनले एक महिनादेखि सुरु गरेको आन्दोलन अन्योलमा परेको छ।

‘वार कि पार’ भन्दै बेञ्च बहिष्कार गरेका १९ जना न्यायाधीशको पदचाप पछ्याउँदै नेपाल बारले जबराविरुद्धको आन्दोलनलाई न्यायाधीशको च्याम्बरबाट सर्वोच्चको आँगनमा ल्याइपुर्‍याएको थियो। तर, जबराको राजीनामा माग्दै बेञ्च बहिष्कार गरिरहेका न्यायाधीश क्रमशः बेञ्चमा फर्किन थालेपछि बारको आन्दोलन निष्प्रभावी हुने जोखिम बढेको छ।

जबराको राजीनामा मागिरहेका न्यायाधीश नै किस्ताकिस्तामा विभाजित हुँदै गएपछि सडक आन्दोलनको नेतृत्व गरिरहेको बार विभाजित न्यायाधीशबीच मध्यस्थता गर्ने प्रयासमा लागेको छ। २९ कात्तिकदेखि बार निरन्तर न्यायाधीशसँग छलफलमा छ।

कोइराला परिवारबाट सभापतिमा शेखरलाई अघि सार्ने तयारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोइराला परिवारबाट नेता डा. शेखर कोइरालालाई सभापतिको उम्मेदवारी बनाउने तयारी भएको छ। सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका महामन्त्री डा. शशांक कोइराला शेखरलाई सहयोग गर्न सकारात्मक देखिएका छन्।

सार्वजनिक रूपमै शशांकले शेखरलाई सभापतिको उम्मेदवारीका निम्ति अरूलाई मनाउनुपर्ने भनिसकेका छन्। सोमबार सर्लाहीमा आयोजित कार्यक्रममा उनले शेखरलाई सभापतिको उम्मेदवार मान्न आफू तयार रहेको बरु अरू नेताहरूलाई मनाउनु पर्ने बताए।

कांग्रेसको नेतृत्व कोइराला परिवारमा ल्याउन आफू बाधक नबन्ने महामन्त्री कोइरालाको भनाइ छ। सर्लाहीमा आयोजित कार्यक्रममा उनले भनेका छन्, 'म मिलाउने काम गर्छु, जिताउने काम गर्छु । पार्टीको नेतृत्व फर्काउन म बाधक हुन्नँ।'

सुमार 'आशावादी भएर' फर्केको दुई महिनापछि आउँदै दुई उच्च अमेरिकी अधिकारी

नेपालमा एमसीसी गिजोलिएका बेला दुई जना उच्च अमेरिकी अधिकारी काठमाडौं आउँदैछन्। दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार साँझ काठमाडौं आइपुग्दै छन्।

उनी माल्दिभ्सको राजधानी माले भ्रमण सकेर काठमाडौं आउन लागेका हुन्। लु को औपचारिक भेटघाट बिहीबार मात्र सुरु हुनेछ।

काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि बिहीबार नै काठमाडौं आइपुग्दै छन्।

डडेल्धुरा कांग्रेसले सानेपामा सुरु गर्‍यो अनशन, फेरि अधिवेशन गर्न माग

नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि अनशन सुरु गरेका छन्। हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने माग उनीहरूको छ। अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने पनि उनीहरूको अडान छ।

यस्तै, वडा तथा पालिका अधिवेशन एकलौटी रूपमा सभापति देउवा पक्षले गरेकाले त्यो बदर हुनुपर्ने माग पनि उनीहरूले राखेका छन्। सबैको सहमतिमा वडा तथा पालिका अधिवेशन गर्न उनीहरूले माग गरेका छन्।

Logo