खोटाङको जन्तेढुंगा गाउँपालिकामा पालिका अधिवेशनमा चुनाव लडेका दुई प्यानल जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा एक ठाउँमा उभिएका छन् ।
गत ९ असोजमा भएको कांग्रेसको पालिका अधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट लडेका सुशील राई (अमित) र कृष्ण सिटौला प्यानलबाट लडेका बाजिन्द्र विष्टको समूह जिल्ला अधिवेशनमा एक भएका हुन् ।
देउवानिकट सभापतिका आकांक्षी पूर्व राज्यमन्त्री सर्वधन राई र सिटौलानिकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीच जिल्ला अधिवेशनमा संयुक्त प्यानल बनाएर चुनाव लड्ने सहमति भएसँगै गाउँपालिकाको दुई प्यानल एक भएका हुन् ।
हालसम्म जिल्ला सभापतिमा दाबी गर्दै आएका महाधिवेशन प्रतिनिधि भूपेन्द्रले जिल्ला अधिवेशनको अघिल्लो दिन पूर्व राज्यमन्त्री सर्वधनलाई सभापतिमा समर्थन गर्ने सहमति गरेका हुन् ।
कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्ट, सभापतिमा पराजित सुशील राई (अमित), कांग्रेस नेता खेम खड्का, देवराज बस्नेत, देवेन्द्र बस्नेत, प्रेमबहादुर बस्नेत, नृपबहादुर चौलागाईंलगायतले दिक्तेलको त्रिवेणी चोकमा सामूहिक तस्बिर खिचाएर दुई प्यानल एक भएको सन्देश दिएका छन् । पालिका अधिवेशनमा विष्टले ५५ मत र राईले ३४ मत ल्याएका थिए । सो गाउँपालिकामा १०१ जना क्षेत्रीय प्रतिनिधि छन् ।
नेता खड्का र नेपाल प्रेस युनियन खोटाङका सभापति उत्तम चौंलागाईं दुई प्यानलबीचमा हारजीतको तुष मेटाउँदै जिल्ला अधिवेशनदेखि आगामी स्थानीय तह लगायतका निर्वाचनमा एक भएर जाने सहमति गराएका हुन् ।
‘पालिका अधिवेशनमा नेता तथा कार्यकर्ता दुई वटा फरक टिममा विभाजित थियो । जिल्ला अधिवेशनमा भने संयुक्त रूपमा जाने सहमति बनेको छ’, चौलागाईंले भने, ‘पार्टीलाई थप मजबुत बनाएर आगामी स्थानीय तहको चुनावमा प्रतिपक्षविरुद्ध लड्नसमेत सहज बनेको छ ।’
कांग्रेसको जिल्ला सभापतिमा पूर्व सभापति विष्णुकुमार राई र महासमिति सदस्य रविप्रकाश राई पनि अघि सरेका छन् । रामचन्द्र पौडेल निकट विष्णुकुमारलाई शेखर कोइराला टिमको समर्थन छ । रविप्रकाश देउवा निकट हुन् ।





























प्रतिक्रिया