कांग्रेस अधिवेशन: पाँचथरमा छैन केन्द्रका गुट

कांग्रेस अधिवेशन: पाँचथरमा छैन केन्द्रका गुट

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार पाँचथरमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदै छ ।

निर्वाचन समितिका अनुसार कांग्रेस पाँचथरका पूर्व सचिव सुरेन्द्रकुमार दाहाल र वर्तमान सचिव रूपनारायण जबेगूले प्यानल निर्माण गरी जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । दुई समूहका अतिरिक्त अन्य केही का‌ंग्रेस नेता कार्यकर्ताले समेत विभिन्न पदमा उम्मेदवारी  दर्ता गराएका छन् ।

दाहाल समूहले आफ्नो प्यानलबाट उपसभापतिको उम्मेदवारमा हालका जिल्ला कार्यसमितिका अर्का सचिव बृजहाङ आङदेम्बे र डेकेन्द्र चेम्जोङ मैदानमा उतारेको छ । सचिवमा धनराज तुम्बापो र डेकेन्द्रकुमार तामाङ तथा सहसचिवमा सन्तोष श्रेष्ठ र कृष्ण फियाक चुनावी मैदानमा छन् ।

जबेगू समूहले उपसभापतिमा मणिचन्द्र चेम्जोङ र समरबहादुर अधिकारीलाई उम्मेदवार बनाएको छ । सचिवमा दीपक नेपाल र सुबराज थापा तथा सहसचिवमा गजेन्द्र राई र धनसिंह नेम्वाङ चुनावी मैदानमा छन् । 

कांग्रेस पाँचथरका वर्तमान सभापति नरेन्द्रकुमार केरुङ, उपसभापति मित्रप्रसाद काफ्लेसहित पुराना र युवा पुस्ताका नेताहरू दुवै समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा आइतबार सम्पन्न प्रदेशसभा क्षेत्रीय अधिवेशनमा दुवै समूहले एकएक क्षेत्रीय कार्यसमितिमा वर्चस्व राखेपछि चुनावी प्रतिस्पर्धा रोमाञ्चक देखिएको छ ।

रोचक पक्ष चाहिँ केन्द्रमा रहेको का‌ंग्रेस गुटबन्दीको प्रभाव पाँचथरमा देखिँदैन । विशेषत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्ष लिएर जिल्ला कार्यसमितिमा प्रतिस्पर्धा हुन नै सकेको छैन । सभापतिका दुवै उम्मेदवारले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा देउवाइतरका नेतालाई आफूले समर्थन रहेको बताउने गरेका छन् । अन्य पदाधिकारीका उम्मेदवार भने विगतमा देउवा तथा नेता कृष्णप्रसाद सिटौलाको समर्थनमा खुल्ने गरेका व्यक्तिहरू समेत छन् । 

Logo