न्यायपालिकालाई निकास दिन सबै गम्भिर हुनुपर्छः सभामुख सापकोटा

न्यायपालिकालाई निकास दिन सबै गम्भिर हुनुपर्छः सभामुख सापकोटा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भिर हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल बार एशोसिएसनको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिका भित्र देखिएका समस्याको सहज र स्वभाविक निकास निकाल्नका लागि सम्बद्ध पक्ष गम्भिर हुनुपर्ने बताएका हुन् । उनले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै उनले न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिए । 

सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरीरहेको पनि उल्लेख गरेका छन् । उनले भने – ‘म मेरो जिम्मेवारीको तहबाट निष्पक्ष, स्वतन्त्र र एउटा तटस्थ भुमिकासहित गर्छु र त्यो मेरो निष्पक्षता, मेरो स्वतन्त्रता, देश, जनता र यो तीनवटा सर्वोच्च अंगहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ओज, गरिमा, र यसमै सम्पूर्ण राज्य केन्द्रीत भइराखेको हुन्छ । अहिले जे बहस भइरहेको हुन्छ, मैले निकै नजिकबाट अध्ययन गर्ने कोशिस गरिरहेको छु । र यो महान बहसका बीचबाट एउटा राम्रो निष्कर्ष निस्किन्छ भन्ने मलाई लागेको छ । र म अझैपनि के चाहान्छु त भन्दाखेरी यसको सहज, स्वभाविक निकास निकाल्नका लागि सम्बद्ध सबै पक्ष अत्यन्त गम्भिर हुनुपर्छ । तपाईहरुका दिनदिनका भनाईहरु, तपाईहरुले बारको प्राङ्गणबाट र अन्य माध्यमबाट पनि हामीलाई ध्यानाकर्षण गराई नै राख्नुभएको छ । यो भन्दा ठुलो ध्यानाकर्षण त अहिले हाम्रो राष्ट्रको लागि अरु कुनै छैन । त्यसकारण मैले निकै नजिकबाट यो धेरै गम्भिर, असाधारण र यो छिटोभन्दा छिटो ढिलाइ नगरीकन निष्कर्ष निकाल्नुपर्ने विषय हो । समस्या गहिरिदै गएको छ । समस्या गहिरिदै जानुमा के के कामहरु भएको छ ? किन धेरै लम्बिइरहेको छ भन्ने कुरामा चिन्तनतिर आफुलाई केन्द्रीत गरेको छु ।’

सभामुख सापकोटाले न्यायपालिकाको समस्या समाधानका लागि आफ्नो विवेक र चेतनाले निर्देशित गरे अनुसार लाग्ने बताए । आफूलाई सत्य के हो भन्ने लाग्छ सोही अनुसार सत्यको पक्षमा पहलकदमी लिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘म के विश्वास दिलाउन चाहान्छु भने व्यवस्थापिकाको, संघीय संसदको नेतृत्वको हैसियतले मेरो ठाउँबाट जुन बहस उठान गर्नुभएको छ, यसमा मैले खेल्नुपर्ने भुमिका मेरो बुद्धि, विवेक, योग्यता, क्षमता, मेरो विवेक र चेतनाले निर्देशित गरे अनुसार नै म यो समाधानमा लाग्नेछु । मलाई लाग्छ यो एउटा सत्यको अन्वेषण पनि हो । जब सत्य यही हो भन्ने लाग्छ, त्यतिबेला मैले पहलकदमी लिने कुरामा केही छैन ।’

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको निम्ति गरिरहेको आन्दोलन बारे जानकारी गराउँदै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बारले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रधानन्यायाधीशको बर्हिगमन र न्यापालिकाको सुधारको निम्ति दृढतापूर्वक उभिन राजनीतिक दललगायत सरोकारवाला सबैलाई आव्हान गर्दै आएको छ ।

Logo