संवैधानिक परिषदमा चाँडो नियुक्त गर्न नेकपाको आग्रह

संवैधानिक परिषदमा चाँडो नियुक्त गर्न नेकपाको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको सचिवालय बैठकले संवैधानिक निकायका रिक्त पदमा संविधान र कानून बमोजिम छिटो नियुक्ति प्रक्रिया अघि बढाउनका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालयको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती नियुक्तिका लागि पहल गर्न र सम्बन्धित पक्षलाई पनि सहयोग गर्न आग्रह गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेश बमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प पनि गरेको उनले बताए। यसअघि असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो ।

बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ । गत स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो । सो स्थायी कमिटीको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरी आन्तरिक एकता बलियो बनाउन अन्तरपार्टी निर्देशन जारी गर्ने निर्णय गरेको थियो ।

Logo