नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्वव थापा विजयी भएका छन्। थापाले ८४४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिश्पर्धी गुरूराज घिमिरे २ मतले पराजित भए। घिमिरेले ८४२ मत पाएका छन्। निर्वाचनमा १ हजार ७५२ मत खसेको थियाे।
सभापतिमा निर्वाचित थापा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति हुन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाकाे समर्थन थियाे।
प्रदेश उपसभापति पदमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी बनेका छन्।
यस्तै महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापनइतरका उमेश थापाले ८२३ मत ल्याएर जितेका छन्।
सहमहामन्त्रीमा खड्ग फागाे, बिनाेद बस्नेत र प्रमिला गच्छदार विजयी भए।
प्रदेश नं २ मा कांग्रेस महाधिवेशन अनिश्चित
नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ। हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो।
प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन्। नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हाद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन।
मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिए। सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन।
प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता एक हजार ८८८ पुग्नेछन्। निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ।
जनकपुरधाममा रामजानकी विवाहमहोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूलसमारोह आगामी २२ मङ्सिरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ। निर्वाचन प्रक्रिया अन्योलमा परेपछि आइतबार पार्टी उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेता जनकपुरमा छलफलमा जुटेका छन्।
छलफलपछि औपचारिक रुपमा निर्वाचन प्रक्रियाबारे सूचना जारी गर्ने निर्वाचन अधिकृत गौतमले जानकारी दिए। यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्।





























प्रतिक्रिया