नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेद्वार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जितेकी छन्। बाबुको प्रेरणाबाट राजनीतिमा लागेकी खानले ८८१ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनले आफ्ना प्रतिष्पर्धी जन्तुल धुनियालाई २९२ मतले पछाडि पारेकी थिइन्।
डा. खान यसअघि कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिएकी थिइन्। रामचन्द्र पौडेल समूहको प्यानलबाट उम्मेद्वारी दिएकी उनी प्रदेश समिति सदस्यमा विजयी भएकी हुन्।
विजयी भएपछि प्रतिक्रिया दिँदै कपिलवस्तुको कृष्णनगरकी बासिन्दा खानले आफ्नो चिकित्सकीय पेसा र पार्टी राजनीतिलई एकसाथ अगाडि बढाउने बताइन् । मुस्लिम समुदायका महिलामा राजनीतिप्रतिको चेतना जगाउने काममा आफूले भूमिका खेल्ने उनको भनाइ छ।
डा. खान १३औं महाधिवेशनमा पनि प्रतिनिधि निर्वाचित भएकी थिइन्। उनले विद्यालय पढ्दादेखि नै नेविसंघमा रही राजनीति सुरू गरेकी थिइन्। डा. खानले एमबीबीएस पूरा गरेकी छन्। 'अझै बिरामीको उपचार सुरु गरेकी छैन, अब नेपालमै इन्टर्न गरेर उपचार सुरु गर्छु', उनले भनिन्।
उनका बुबा अकिल मियाँ यसअघिका कांग्रेसका क्षेत्रीय सभापति हुन्। अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । राजनीतिमा युवा र महिला सहभागिता वडा तहबाट नै बढ्दै गएको र यसले आशाको सञ्चारसमेत जगाएको उनले बताइन्।





























प्रतिक्रिया