लुम्बिनी प्रदेशको नीति: १२ जिल्ला, १२ सांस्कृतिक ग्राम

लुम्बिनी प्रदेशको नीति: १२ जिल्ला, १२ सांस्कृतिक ग्राम

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रादेशिक सरकारले सांस्कृतिक विकासका लागि नयाँ योजना ल्याएको छ । प्रदेशका १२ जिल्लामा १२ सांस्कृतिक ग्रामको स्थापना गरेर  सांस्कृतिक पर्यटन विकास गर्ने नीति सार्वजनिक गरेको छ । 

जिल्लाको सांस्कृतिक परिचय र विशेषताका आधारमा सांस्कृतिक ग्रामहरू निर्माण हुनेछन् । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत १२ जिल्लाका १२ स्थानमा सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागिएको हो । जाति भाषा, धर्म संस्कृति, खानपान, रीतिरिवाज, परम्पराका आधारमा त्यसको विकास र चिनारीका लागि ग्रामहरू निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

'संस्कृति बचाउ र व्यवसाय गर' भन्ने नीति प्रदेशले लिएको र त्यहीअनुसार सांस्कृतिक ग्रामहरू निर्माण गर्न लागेको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बताए । संस्कृतिलाई व्यवस्थापन गरेर व्यावसायिक रूपमा लैजाने उद्देश्यले प्रदेशमा सांस्कृतिक ग्रामहरू जिल्लाअनुसार निर्माण गर्न लागिएको जानकारी दिए ।

संस्कृतिलाई बचाउने परम्परालाई चिनाउने गरी काम हुने उनको भनाइ छ । प्रदेशमा भएको जातिगत विशेषता, धार्मिक विशेषता, सांस्कृतिक र परम्परागत विशेषतालाई संस्थागत गर्दै संरक्षण तथा विकास गर्न र त्यसबाट आयआर्जन बढाउन सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको मन्त्री चौधरीको भनाइ छ । उनले यसबाट यो वर्षमा पाँच हजार युवा, महिलालाई सांस्कृतिक रोजगार दिने बताए । 

कुन जिल्लामा कुन सांस्कृतिक ग्राम 

मन्त्री चौधरीले दाङ, बाँके, बर्दियामा थारु संस्कृतिसँग जोडिएका ग्रामहरू निर्माण हुने, प्युठान, अर्घाखाँची र गुल्मी, क्षेत्री बाहुन (खसआर्य) संस्कृति, परम्परा र रीतिरिवाजसँग जोडिएका ग्रामहरू निर्माण गरिने बताए । पाल्पा, रुकुम, रोल्पामा मगर ग्राम, रुपन्देहीमा बहु सांस्कृतिक ग्राम, कपिलवस्तु अवध सांस्कृतिक ग्राम र नवलपरासीमा  भोजपुरी सांस्कृतिक ग्राम निर्माण हुनेछन् ।  यस विषयमा सबै जिल्लाका सरोकारवालाहरूलाई सहभागी गराएर मन्त्रालयले दाङमा अन्तरक्रियासमेत गरेको छ ।

Logo