नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते मुकेश कायष्थसँग भेटघाट गरेका छन् ।
दोस्रो जनआन्दोलन २०६२/६३ मा गम्भीर घाइते भएका कायष्थलाई महामन्त्री शर्माले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–८ स्थित उनकै घरमा भेटघाट गरेका हुन् । ‘अर्धचेत’ अवस्थामा रहेका कायष्थलाई भेट गर्दै शर्माले जनआन्दोलनका घाइते र शहीदको भावनाको कदर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकतन्त्र प्राप्तिका लागि जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते १५ वर्षीय कायष्थ बनेपाको तीनदोबाटोमा बाँया कञ्चटमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनयता उनको होस् अझै खुल्न सकेको छैन । उनको बाँया हातसमेत राम्रोसँग चल्दैन ।
“जिम्मेवारी सुरु गर्दा जिउँदो शहीद मुकेश र उहाँको परिवारकै सामु शपथ खान्छु”, भेटका क्रममा महामन्त्री शर्माले बताए । उहाँहरुकै योगदानका कारण आजको दिन आएको शर्माको भनाइ थियो । “व्यवस्था ठीक छ, अवस्था बदल्ने हो”, उनले थपे “अवस्था बदल्यौँ भने मुकेश कायष्थ फेरि अरु कसैले बन्नु पर्दैन ।” देशको राजनीति सही बाटो हिँडे घाइते तथा शहीदको सपना पूरा हुने महामन्त्री शर्माको भनाइ थियो ।
अर्धचेत अवस्थाका ३१ वर्षीय कायष्थ १६ वर्षदेखि श्ययामा सुतिरहेका छन् । उनी तीन वर्षदेखि दुब्लाउँदै गएका छन् भने पहिले जस्तो हाँस्न र बोल्न सकेका छैनन् । “पीरमाथि पीर थपिएको छ, छोरा ठीक होला भन्ने आशा अझै मरेको छैन”, कायष्थकी आमा मिराले शर्मासँग भेटका क्रममा बताइन् ।
लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकामा हाल पेटमा पाइपद्वारा खानेकुरा दिइएको छ । मुकेश परिवारको एक्लो छोरो हुन् । आन्दोलनताका मुकेश बनेपाकै विद्यासागर स्कुलमा कक्षा आठमा पढ्थे । मुकेशको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि भन्ने आशामा छ कायष्थ परिवार ।
हाल मेडिसिटी अस्पतालका चिकित्सक गोपाल रमणले मुकेशको स्वास्थ्य जाँच गर्दै आउएका छन् । टाउकामा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुँदा समस्या भइरहेको चिकित्सकलाई उद्धृत गर्दै आमा मिराले बताइन् । तत्कालीन सरकारले मुकेशको उपचारका लागि रु १६ लाख सहयोग तथा बैंकको रु सात लाख ऋण मिनाहा गरिदिएको थियो ।
सरकारद्वारा जीवन–निर्वाह भत्तास्वरुप मासिक रु १६ हजार उपलब्ध हुँदै आएको छ भने एक स्वास्थ्यकर्मीलाई हेरचाहका लागि खटाइएको छ । मुकेशको नाममा बनेपामा प्रतिष्ठान पनि स्थापना गरिएको छ । प्रतिष्ठाले मुकेशका नाममा पुनःस्थापना केन्द्रका लागि प्रक्रिया थालिने जनाएको छ ।
दोस्रो जनआन्दोलनमा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनका क्रममा नालाका भिमसेन दाहालले पोखरामा, पनौतीका सगुन ताम्राकारले कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामाले जोरपाटीमा ज्यान गुमाएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।





























प्रतिक्रिया