नेकपा प्रचण्ड–माधव पक्षद्वारा तेस्रोचरणको आन्दोलनका कार्यक्रम घोषणा

नेकपा प्रचण्ड–माधव पक्षद्वारा तेस्रोचरणको आन्दोलनका कार्यक्रम घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पार्टीको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरि पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा ०७७ माघ १३ गते सिट्ठी जुलुश, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधिसभाका सांसद र प्रदेश सभाका सदस्यहरु सहितको दैनिक धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले जानकारी दिइन्।

त्यसैगरी, माघ १६ गते शहीद दिवसको अवसरमा जुलुससहित शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ भने देशभर विभिन्न विरोध सभा र आन्दोलनको घोषणा गरिएको छ । माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुने र ती सभाहरुमा पार्टी अध्यक्षद्वय तथा वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमहरुको निरन्तरता दिने, समाजका विभिन्न तह र तप्काका मानिसहरुसँग अन्तर्क्रिया आयोजना गरिने भएको छ । माघ २२ गते काठमाडौंमा युवा र्याली, माघ २६ गते देशव्यापी मशाल जुलुश तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा हुने केन्द्रीय संघर्ष समिति सह–संयोजक भुसालले बताइन् ।

Logo