कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध, अरूकाे लागि मतदान जारी

कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध, अरूकाे लागि मतदान जारी

केन्द्रबिन्दु
0
Shares

धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन्। जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ। 

निर्विरोध हुनेमा जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए।  

त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङ निर्विरोध भएको निर्वाचन संयोजक गौतमले बताए। प्रदेश सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत बाँकी पदका लागि आज मतदान भइरहेकाे जनाइएको छ। अन्तिम नामावली प्रकाशन भएपछि अहिले मतपत्र छपाउने काम भइरहेको र त्यो सकिएपछि मतदान सुरु हुने निर्वाचन समिति संयोजक गौतमले बताए। 

पार्टीको प्रदेश २ को नयाँ नेतृत्वका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादव र प्रदेश–२ संसदीय दलका नेता रामसरोज यादवबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेश समितिको विभिन्न ७२ पदका लागि १७४ जनाको उम्मेद्वारी परेको छ। जसमध्ये ६ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ। प्रदेश २ का ८ जिल्लाको ३२ सङ्घीय निर्वाचन क्षेत्र र ६४ प्रदेश निर्वाचन क्षेत्र समेत गरी दुई हजार मतदाता रहेको जनाइएको छ। 

Logo