मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय

मन्त्रिमण्डल पुनर्गठन गर्ने नेकपा सचिवालयको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उनले बताए । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभएपनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । कसलाई पठाउने भन्ने विषयमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।

त्यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले जानकारी दिए । सो विषयमा निर्णय भने भएको छैन । साथै, पार्टी एकीकरणका बाँकी कामहरु पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ ।

त्यस्तैगरी स्थायी कमिटी र केन्द्रिय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रिय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उनले बताए । पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । साथै, संघीय सांसदहरुले कोभिडको अवधिको बैठक भत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनको भनाइ छ । नेकपा सचिवालय बैठक सोमबार दिउँसो १ बजे बस्ने छ ।

Logo