पदाधिकारीका लागि गरिएको निर्वाचनले अन्ततः पार्टी विघटनको स्थितीमा पुग्छः देव गुरुङ

पदाधिकारीका लागि गरिएको निर्वाचनले अन्ततः पार्टी विघटनको स्थितीमा पुग्छः देव गुरुङ


नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले प्रचण्ड पार्टी र देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन्।

नेता गुरुङले पार्टी र  देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन् । उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए। 

नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि जानकारी दिए। उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए।

नेता गुरुङले वर्षमान पुन (अनन्त) र  जनार्दन शर्मा (प्रभाकर)को महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताए। उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरुबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रश्ताव आएको पनि बताए । नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारे।

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरु सहमतिमै चयन गर्न आग्रह गरे। उनले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितीमा पुग्ने दाबी गरे। 

Logo