ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्विकार गरिसके : माधव नेपाल

ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्विकार गरिसके : माधव नेपाल


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्विकार गरिसकेको बताएका छन्।

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्विकार गरेको बताएका हुन्। 

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए। सोही भनाइलाई उधृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित छ भनेर भाषणमै स्विकार गरेको टिप्पणी गरे। उनले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोपसमेत लगाए। 

जिल्ला जिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाइ थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले आरोप लगाए। उनले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको दावी पनि गरे। अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिसहरु मात्रै रहेको र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहोर्याए। 

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताए। उनले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

Logo