‘जनअपेक्षा छिट्टै पूरा हुनेछन्’ : अध्यक्ष दाहाल

‘जनअपेक्षा छिट्टै पूरा हुनेछन्’ : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरे अनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताएका छन् ।

संविधान दिवस, २०७७ का अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाए। “राष्ट्रिय स्वाधिनता र एकताको दृष्टिले यो बीचमा केही ऐतिहासक काम भएका छन् । सीमानाका समस्या समाधान गर्ने तथा हाम्रो भूगोललाई आफ्नो नक्सामा आबद्ध गरेर त्यो भूगोल फिर्ता गर्ने सङ्कल्प नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि सबैले संकल्प गरेको स्थिति छ”, अध्यक्ष दाहालले भनेका छन् , “भोलिका निम्ति सुखद् संकेत यसभित्र छ ।”

उनले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्धत गर्ने उनको विश्वास छ । “देशलाई आर्थिक समृद्धि र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य बनाउनका निम्ति नेपाली जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवि लगायत संकल्प गर्ने दिनका रुपमा रहने छ”, उनले भने, “आउनुहोस् हामी सबै एक हौँ । सबै एक भएर राष्ट्रको एकता र समृद्धिको आकांक्षा पूर्ति गर्नका निम्ति अगाडि बढौं ।”

संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्त ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्टिय सम्बन्धलाई सहज बनाउने, खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताए।

“पूर्वाधार विकास र निर्माणमा पनि हामी अगाडि बढेका छौँ तर नेपाली जनताले हामीलाई अपार विश्वास गरेर मतदान गर्ने बेलामा जसरी अपेक्षा गरेका थिए । निकै तीव्र गतिमा आर्थिक विकास हुनेछ । निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको एउटा नयाँ दौडमा अब नेपाल तीव्र बेगमा अगाडि बढ्नेछ भन्ने अपेक्षा अझै पूरा भएको छैन भन्ने जनगुनासो हामीले सुनेका छौँ”, उनले सन्देशमा भनेका छन् , “यसबीचमा धेरै उतारचढाव पनि भए, एकतातिर स्वयम् सरकारको नेतृत्व गर्ने पार्टीभित्र विचार र बहसका कुरा, अर्कातिर देश र दुनियाँमा कोभिड–१९ को महामारीका कारण अप्ठ्यारो र जटिल परिस्थिति पैदा भयो । फेरि पनि हामीले आफ्नो पार्टीभित्रको एकतालाई पनि नयाँ शिराबाट अगाडि बढाउँदै कोरोनाविरुद्धको अभियानलाई पनि अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेका छौँ ।”

Skip This
Skip This
Logo