तनावबीच मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन, गठबन्धनको जित

तनावबीच मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन, गठबन्धनको जित

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशमा जनमत पार्टीको अवरोधबीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो। 

विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो। त्यसअघि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरधाममा प्रवेश हुने मुख्य मुख्य नाकाहरुमा बिरोध प्रदर्शन गरिरहेका थिए।

जनमतका कार्यकर्ताहरु जनकपुरधामको पिराडी चोक, कमद चोक, मुरली चोक, रामानन्द चोक, जिरोमाईल लगायतका स्थानहरुमा विरोध गरिरहेका मतदानमा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई मतदान स्थलसम्म पुग्न निकै सकस भएको थियो। प्रहरीले उनीहरुलाई सकटिङ्ग गरेर मतदानस्थलसम्म पुर्‍याउने काम गरिरहेका थिए।

त्यही क्रममा जनता समाजवादी पार्टीका सांसद तथा प्रदेश मामिला संसदीय समितिका सभापति अशोक यादवले चढेको प्रदेश २–०३–००१ झ ००१८ नम्बरको गाडीमा पिराडी चोकमा तोडफोड गरेका थिए। त्यसैगरि, सर्लाही हरिवन नगरपालिका मेयर गणेश प्रसाई र उपमेयर रेणु पौडेल सवार प्रदेश २–०३–००१ झ ००२० को नम्बरको गाडीमा जनमतका कार्यकर्ताले स्थानीय राम चोकमा एक्कासी तोडफोड गरेका थिए । उक्त घटनामा मेयर प्रसाईको टाउकोमा चोट पनि लागेको छ। जनमत कार्यकर्ताले लाठी प्रहार गर्दा सांसद यादवको दाँया हात भाँचिएको छ।

त्यसैगरि, धनुषा गाणेशमान चारनाथ नगरपालिका उपमेयर मिना यादव चढेको प्रदेश २–०३–००१ झ ००८०को नम्बरको गाडीमा सिसा फुटाईएको छ। 

त्यसैगरि बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिस साह माथी पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै आक्रमण गरेका थिए। आक्रमणमा परि मेसु  साहको सवारी प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडी पुर्ण रुपमा क्षतिग्रस्त भएको छ भने मेसु साहको मुखमा  चोट लागेर ८ वटा टका लागेको धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए।

यसैबीच, जनमत पार्टीका नेता कार्यकर्ताहरुले मतदान स्थल जनकपुरधाम स्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान नजिक विरोध प्रदर्शन गर्दा प्रहरीसंग झडपसमेत भएको थियो। सो क्रममा प्रहरीले पाँच राउण्ड आश्रुग्यास र लाठी चार्ज गरेको थियो। मतदान स्थलबाट जनमत पार्टीका कार्यकर्ताहरु लखेटिएपछि पिराडी चौकमा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरी करीब चार घण्टासम्म प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच दोहरो झडप समेत भएको थियो।

प्रहरीका अनुसार प्रदर्शनकारीहरुले सातवटा मतदाताको सरकारी नम्बर प्लेडको गाडीमा तोडफोड गरेका छन् भने प्रदर्शनकारीको ढुंगामुढा लागेर ४ जना प्रहरी, तीन जना जनप्रतिनिधि र एक चिकित्सक सहित ८ जना घाइते भएका छन्। ६ जना प्रदर्शनकारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रजौरे जानकारी दिए। पक्राउ परेकाहरु माथि मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक रजौरेले बताए। 

यसैबीच, राष्ट्रिय सभा निर्वाचनको क्रममा बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानबिन गर्न मधेश प्रदेश सरकारले निर्देशन दिएको छ।

प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

यसैबीच मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिला समूहमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहमा जनता समाजवादी पार्टी(जसपा) नेपालका खालिद सिद्धिकी विजयी भएका छन्।

Skip This
Skip This
Logo