प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्य तथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् ।
आइतबार शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरूको सत्य तथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताए । शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए । उनले शहीदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताए । मन्त्री देउवाले शहीदहरूले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरुको परिकल्पना अनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट मुक्ति दिलाउनु पर्ने बताए । प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रूपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रूपान्तरण गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘शहीदहरुको बलिदान र आहुतिबाट नै आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापित हुन सकेको छ । जनतामा राजनैतिक, सामाजिक चेतनाहरू फैलाउन तथा नागरिकहरूलाई आफ्नो हक अधिकारप्रति सचेत बनाइ मुलुकको अन्याय, अत्याचार र स्वेच्छाचारी शासनलाई उन्मुलन गर्ने शहीदहरुको उच्च योगदानप्रति हामी सबै नेपालीहरू नतमस्तक छौँ । निःस्वार्थ रूपमा देशको हीत, समुन्नतिको लागि जीवन समर्पण गर्ने शहीदहरूले देखेको सपनालाई साकार तुल्याउन आज हामी सबै आफ्नो क्षेत्रबाट प्रतिबद्ध भई लाग्नुपर्ने खाँचो छ । शहीदले परिकल्पना गरेअनुसार सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता तथा आर्थिक, सामाजिक अधिकार प्रयोग गर्न सक्ने सम्मको मुलुक निर्माण गर्ने राष्ट्रको दायित्व हो । शहीदको योगदानलाई चिरस्थायी बनाउन नेपाल सरकारले शहीदहरुको नाममा विभिन्न मार्ग प्रस्थानको नामकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, शहीदहरुको जीवनीसँग सम्बन्धित कुराहरूलाई प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, शहीदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका कामहरू गर्दै आइरहेको छ । यस्ता कामहरूलाई राजनीतिवृत्तमा थप बिस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ । मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्य तथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु ।’
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटकासाथ अघि बढ्नु पर्ने बताए । उनले शहीदका सपनाहरूलाई साकार गर्न उनीहरूका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
मेयर शाक्यले भने, ‘देश र जनताको लागि आहुति दिने शहीदहरूले मुलुकप्रति देखाएको समर्पण अतुलनीय छ । उहाँहरूले आफ्नो परिवार नहेरीकन लोकतन्त्र र देश, जनताको लागि योगदान गर्नुभएको छ त्यो कसैले पनि बिर्सन सक्दैन । शहीदहरूले दिएको योगदानलाई सम्मान गर्दै त्यही बाटोमा पहिल्याउँदै हामी सबैले देश र जनताको लागि केही गर्ने अठोटकासाथ अघि बढ्नुपर्छ । अघि बढेर उहाँहरूले देखेको सपनालाई साकार बनाउनु पर्छ ।’
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले शहीदहरुको सम्झनास्वरुप माघ १० गते शहीद शुक्रराज शास्त्री, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा माल्यार्पण गरेको बताए ।
शहीदहरूको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री देउवाको निर्देशन
शहीदहरूको एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्री देउवाको निर्देशन
Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, 29 January 2022





























प्रतिक्रिया