सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान १० बजेपछि बस्न लागेको हो।
यसअघिका बैठकमा एमसीसी सम्झौताबारे गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन सकेको थिएन। तर आजको बैठकले संसद्मा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बुझिएको छ। एमसीसी संसद्मा टेबल गर्न दिनेबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक छन् भने एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसीसी टेबल गर्न अवरोध नगर्ने तर यथास्थितिमा एमसीसी अनुमोदन गर्न भने नसक्ने निष्कर्ष निकालेको छ।
जसपाले ठोस निर्णय लिन सकेको छैन। अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्। एमसीसीले दिएको समयसीमा फागुन १६ गते नजिकिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा संसद्बाट पारित गराउन तीव्र दबाबमा रहेका छन्। उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
सत्ता गठबन्धनको बैठकलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने छ । यी दुवै बैठकमा एमसीसी संसद्को कार्यसूची बनाउने सहमति भए आइतबार नै संसदमा टेबल गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ। दिउँसो १ बजे संसद् बैठक बस्दैछ।





























प्रतिक्रिया